गाडीको ठक्करबाट युवकको मृत्यु भएपछि छिन्चु बन्द

गाडीको ठक्करबाट युवकको मृत्यु भएपछि छिन्चु बन्द

सुर्खेत – गाडीको ठक्करबाट घाइते भएका युवाको मृत्यु भएपछि आफन्तले कर्णालीको प्रवेशद्धार भेरीगंगाको छिन्चु बजार क्षेत्र बन्द गराएका छन्। मंगलबार बेलुका आठ बजेतिर सडक किनारमा उभिएर फोनमा कुरा गरिरहेका भेरीगंगा–४ का ३२ वर्षीय राजु बोहरालाई बा३ख ६३५२ नम्बरको गाडीले ठक्कर दिएको थियो। गाडीको ठक्करबाट गम्भीर घाइते भएका युवकको उपचारका लागि नेपालगञ्ज लिने क्रममा बाटोमै मृत्यु भएको थियो।

मृतकका आफन्तहरुले गाडी चालकलाई पक्राउ गरेर कारवाही गर्नुपर्ने तथा परिवरलाई क्षतिपूर्तिको माग गर्दै बुधबार बिहानैदेखि छिन्चु बजार बन्द गराएका छन्। आफन्तहरुको आन्दोलनका कारण सवारी साधन चलेका छैनन्। इलाका प्रहरी कार्यालय छिन्चुका प्रमुख प्रहरी निरीक्षक माधव चौधरीले पीडित परिवारसँग वार्ता भइरहेको बताए। ‘ठक्कर दिने गाडी चालक फरार रहेकाले खोजी गरिरहेका छौं,’ प्रहरी निरीक्षक चौधरीले भने, ‘बन्द खुलाउन पीडित पक्षसँग वार्ता भइरहेको छ।’

प्रतिक्रिया