स्थानीय तहमा युवा स्वरोजगार र सीपमुलक कार्यक्रम आवश्यक

स्थानीय तहमा युवा स्वरोजगार र सीपमुलक कार्यक्रम आवश्यक

दैलेख : जिल्ला समन्वय समितिका प्रमुख प्रेमबहादुर थापाले युवा स्वरोजगार र सीपमूलक कार्यक्रम जिल्लाका सबै स्थानीय तहमा आवश्यक रहेको बताएका छन् । सेभ द चिल्ड्रेनको सहयोगमा सञ्चालित युवा सशक्तिकरण बुलगारी परियोजनाको वार्षिक समीक्षा तथा बर्हिगमन कार्यक्रममा उनले सो विचार राखेका हुन् । प्रमुख थापाले चामुण्डाबिन्द्रासैनी नगरपालिका र गुराँस गाउँपालिकामा युवा स्वरोजगार सिर्जना गर्न परियोजनाले खेलेको भूमिकाका प्रशंसा गर्दै अव कार्यक्रम विस्तार गर्दा जिल्लाका सबै ११ स्थानीय तहमा कार्यक्रम लागु गर्न आफूले साझेदार संस्थालाई आग्रह गर्ने बताए ।
समीक्षा कार्यक्रममा १ सय ५ जनालाई सीटीइभीटीको ए लेवल तालिम, ८६ जनालाई लघु उद्यममा सघाउन, विपन्न विद्यार्थीको शैक्षिक सहयोग र उपार्जनका काममा सघाउन समेत सन् २०१६ देखि परियोजना चलेको ४ वर्ष अवधिमा २ करोड ९५ लाख ४७ हजार ९३ रुपैंयाँ खर्च भएको कार्यक्रम संयोजक टेकराज आचार्यले जानकारी दिए ।
परियोजनाको ४ वर्ष अवधिमा गरिएका कार्यक्रम, परियोजनाको कुल खर्च, लाभान्वितहरुको विवरण सहितको बिस्तृत विवरण सहितको प्रतिवेदन जिल्ला समन्वय समिति, कृषि विकास कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, पशु अस्पताल तथा पशु सेवा कार्यालयका अधिकारीहरुलाई हस्तान्तरण गरिएको थियो ।

प्रतिक्रिया