दलित बस्तीमा समाज रुपान्तरको रणनीति ‘बालबालिकाको शिक्षा र मदिरा रोकथाम’

दलित बस्तीमा समाज रुपान्तरको रणनीति ‘बालबालिकाको शिक्षा र मदिरा रोकथाम’

दैलेख : सदरमुकाम नजिकैको जाहारकोट गाउँ उहिलेदेखि प्रशासनिक पकड जमाएको ठाउँ हो । प्रशासनिक निकायहरुमा पहुँच भएका कारण यो गाउँका क्षेत्रीहरु काजी कहलिएका छन् । पण्डितहरु पनि जिल्लाका सबै बाहुन बाहुनका अगुवा हुन् ।
जिल्ला समन्वय समितिका प्रमुख प्रेमबहादुर थापाले जिल्ला चलाएका छन् अनि सत्तारुढ पार्टी नेकपाका जिल्ला अध्यक्ष रबिन्द्रराज शर्मा दैलेद क्षेत्र नं. १ को प्रतिनिधिसभा सदस्य छन् । उहिले बडाहाकिम अनि अहिले गणतान्त्रिक व्यवस्थामा पनि सत्ता काजी र पण्डितकै हातमा छ भन्ने उदाहरण काफी हुन्छ । क्षेत्री र बाहुनको बोलवाला यो गाउँका दलित युवाहरु भने प्राय भारतमा गएर चौकीदारी, मजदूरी र राम्रो काम पाउनेहरुले होटलमा कूकको काम गर्छन् । राणा शासन र पञ्चायत छँदा दलितहरुले हलिगोठालाका काम गर्दथे अहिले व्यवस्था बदलिएपछि दलितहरुको पेशा पनि बदलिएको छ, भारतमा मजदूरी ।

यही गाउँका सन्तबहादुर सुनार नेपाल सरकारको सहसचिव अर्थात राजपत्रांकित प्रथम श्रेणीको अधिकृत छन्, उनी भन्दा तलतल पदका जागिरे पनि नभएका होइनन् तर अलिकति कमाएकाहरु नेपालगञ्ज र सुर्खेततिर बस्ती सरिसकेका छन् ।
कमाएकाहरु सबैजसो सुविधायुक्त सहरतिर पसे पनि केही थोरै युवाहरु समाज परिवर्तनका लागि दलितहरुको जीवनस्तर सुधार कसरी गर्न सकिएका भनेर दिनरात खट्न सुरु गरेका छन् । स्वास्थ्य सेवा कार्यालय दैलेखकमा लेखाअधिकृत दीपक नेपाली र सदरमुकाममा व्यापार गर्ने बखत नेपाली लगायतका युवाहरु समाज परिवर्तनका लागि दिलचस्वीका साथ जुटेका छन् ।
जाहारकोटका क्षेत्री र बाहुनहरु जहिले पनि सत्तामा रहने भए पनि दलितहरुका दुख उस्तै किन भएको ? भन्ने कुरा घोत्लेर खोजीखनी गर्न थालेपछि थोरै कमाई धेरै खर्च मूल कारण रहेको बिश्लेषण गरेर दलितहरुलाई उपार्जनमा लगाउन यी दुई जनाको अगुवाईमा सबै युवा परिचालन रणनीति बनेको छ ।
दलितहरुको जीजनस्तर उठाउन बालबालिकाहरुका लागि शिक्षामा लगानी, दलित युवाहरुलाई उपार्जनका काममा लगाउने र समुदायका फजुल खर्च कटौती गर्ने रणनीति अहिले कार्यान्वयनमा ल्याइएको छ ।
कमाई कम तर खर्च बढी हुने प्रमुख कारण मदिराको अत्याधिक सेवन रोकथाम गर्न जाहारकोटका दलित समुदायको विवाहवारी वा मृत्यू संस्कारमा रक्सी प्रयोग गर्न रोक लगाइएको छ । जाहारकोटमा माइती भएकी चेलीबेटीले विवाहवारी वा मृत्यू संस्कारमा रक्सी ल्याएर आए युवाहरुले पोखेर फाल्ने गरेका छन् ।
जाहारकोटका दलित समुदायको विवाहवारी वा मृत्यू संस्कारमा रक्सी लिए पोख्न थालेको सिकाई छिमेकी गाउँमा पनि अभ्यास गर्न थालिएको छ । सुरुमा रोक्न खोज्दा धेरै बिरोध खेप्न परेको थियो, निरन्तर प्रयास गरेपछि सामुदायिक काममा रक्सी रोक्न सकिएकोमा आफूलाई सन्तुष्टी लागेको शिल्पी समाजका संयोजक समेत रहेका बखत नेपालीेले सुनाए ।
आर्थिक मितव्ययिताको अभ्याससंगै बालबालिकाको शिक्षामा ध्यान दिन सके भावी सन्ततीहरुको भविष्य सुधार्न सकिने दूरदर्शिता लिएर तर्तालबाडाबाट विद्यालय पढ्ने बालबालिकाहरुलाई हरेक दिन दिउँसो विद्यालयमा पढाइएका विषयमा साँझ २ घण्टा सहजीकरण कक्षा सञ्चालन गर्न थालिएको छ ।
दुई महिनादेखि निरन्तरता दिइएको सहजीकरण कक्षाका लागि स्नातक पढ्दै गरेकी करिना नेपालीले समय दिंदै आएकी छिन् भने लेखा अधिकृत दीपक नेपालीको घर तर्तालबाडा टोलभरीका बालबालिकाहरुलाई हरेक दिन साँझ भेला हुने स्थान बनेको छ ।
यो सहजीकरण कक्षामा आइतवारदेखि शुक्रवारसम्म कक्षामै पढेको विषय छलफल हुन्छ, शनिवार विहान खाना खाएपछि बालबालिका अतिरिक्त क्रियाकलापमा जुट्छन् । ती बालबालिकाहरुको विभिन्न पाटापक्षलाई मुल्यांकन गरेर पुरस्कार दिइन्छ । बालबालिकाहरुलाई प्रोत्साहित गर्न बेलाबेला विशिष्ट व्यक्तिलाई बोलाएर पुरस्कार वितरण गर्ने विशिष्ट व्यक्तिको सफलता निम्ति गरेका संघर्ष र परिश्रम बारे सुनाइन्छ । त्यस्तो विशेष व्यक्ति यस पटकको शनिवार चाहिं दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कटेललाई निम्ता गरिएको थियो ।

जो कोही कार्यक्रममा नजाने प्रमुख जिल्ला अधिकारी कटेल जिल्ला विपद व्यवस्थापन सम्वन्धी जिल्ला स्तरीय कार्यशाला र एईईको परीक्षा समन्वय समितिको वैठक सकेर अपरान्ह ४ बजेर तर्तालबाडाका दलित बालबालिका भेला भएको ठाउँमा पुगे ।
युवाहरुले मदिरा रोकथाम प्रयास गरेका र विद्यालय जाने बालबालिकालाई उत्प्रेरणा गराउने सहजीकरण कक्षा चलेको छ भन्ने पहिले नै सुनेको आधारमा उहाँ त्यहाँ गुगेका हुन् । आफू जानैपर्ने अन्तरराष्ट्रिय महिला दिवस पूर्वतयारी बैठकमा सहायक प्रमुख जिल्ला अधिकारीलाई पठाएर प्रमुख जिल्ला अधिकारी कटेल त्यहाँ पुगेका थिए ।
साकाहारी, नीति शास्त्रका व्याख्याता प्रमुख जिल्ला अधिकारी कटेलले महिला, दलित, अपाङ्गता भएका व्यक्ति र यस्ता पिछडिएको समुदाय अन्यायमा नपरोस् र राज्यबाट दिइनुपर्ने सुविधा सहजै पाउन सकून भनेर आफू सधैं चिन्तित हुने गरेको सुनाए ।
बालबालिकालाई यसरी प्रोत्साहित गर्ने पवित्र कार्य थालेकोमा समाज रुपान्तर अभियानका जुटेका युवाहरुलाई उनले धन्यवाद दिए । विद्यालय र सहजीकरण कक्षाले सघाए जसरी घरमा आमाले पनि बालबालिकालाई स्वतन्त्र रुपमा सिक्न सक्ने प्रमुख जिल्ला अधिकारी कटेलले बनाउन सुझाव दिए ।
बालबालिका प्रोत्साहन गर्न आयोजित शनिवार शरीय कार्यक्रममा यो हप्तामा पढाई तर्फ उमेश नेपाली, अनुशानमा दिलमाया नेपाली र राम्रो गीत गाएका शर्मिला नेपाली अनि भवेश नेपालीलाई पुस्कार दिइएको थियो ।
पत्रकारद्वय अमर सुनार अनि हिक्मत नेपाली, जनता मावि कोटथाप्लाका शिक्षक लोकेन्द्र थापा लगायत समाजका अगुवाहरु, अभिभावक र बालबालिकाकै रोहवरमा नारायण नगरपालिका–२ का वडाध्यक्ष रेशमबहादुर थापाले सहजीकरण कक्षाका लागि आगामी वर्ष उचित बजेट व्यवस्था गरिने वचन दिए ।

प्रतिक्रिया