पत्रकार डेकेन्द्रराज थापा हत्या प्रकरण – मुख्य आरोपित मध्ये एक गिरफ्तार परेपछि मुद्दा जाग्यो

पत्रकार डेकेन्द्रराज थापा हत्या प्रकरण – मुख्य आरोपित मध्ये एक गिरफ्तार परेपछि मुद्दा जाग्यो

दैलेख फागुन २१ : पत्रकार डेकेन्द्रराज थापाको हत्याका मुख्य आरोपित ४ जना मध्ये एक दुल्लू नगरपालिका–६ छिउडीपुसाकोटका ३९ वर्षीय अरुण भन्ने बमबहादुर खड्का गिरफ्तार परेपछि कर्तव्यज्यान सम्वन्धी मुद्दा मुल्तवीबाट जागेको छ । हत्याका मुख्य आरोपित गिरफ्तार परेका बखत मुद्दा जगाउन सकिने दैलेख जिल्ला अदालतको अघिल्लो फैसला अनुसार फागुन २० गते अहिलेसम्म गिरफ्तार नपरेका अन्य तीन जना समेतको मुद्दा जागेको दैलेख जिल्ला अदालतका सूचना अधिकारी बिनोद आचार्यले बताए ।
शान्ति प्रक्रियापछि पनि गिरफ्तार परिने डरले लुकीछिपी बस्तै आएका अरुण भन्ने बमबहादुर खड्कालाई कैलाली प्रहरीले गिरफ्तार गरी अड्डासार गर्दै जिल्ला प्रहरी कार्यालय दैलेखमा जिम्मा छोडेपछि फागुन २० गते दैलेख जिल्ला अदालतमा पेश पेश गरिएको थियो ।
फागुन २० गते भएको थुनछेक बहसपछि जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेको आदेशबाट अरुण भन्ने बमबहादुर खड्कालाई कारागार चलान गर्ने र मुल्तवीमा रहेको मुद्दा जगाइएको सूचना अधिकारी आचार्यले जानकारी दिए ।
२०६१ साउन २७ गते गरिएका पत्रकार थापाको शव गाडिएको ठाउँ नौमूले गाउँपालिका–३ द्वारीबाट ४ वर्षपछि कंकाल निकाली दाहसंस्कार गर्नुसंगै २०६५ भदौ १२ गते जिल्ला प्रहरी कार्यालय दैलेखमा ९ जना बिरुद्ध किटानी जाहेरी दिइएको थियो ।
घटनाका विषयमा आरोपित मध्येका ५ जनालाई २०६९ पुस २० गते प्रहरीले गिरफ्तार गरेर चलाएको मुद्दामा २०७१ मङ्सिर २१ गते दैलेख जिल्ला अदालतले गिरफ्तार परेका ५ जनालाई पत्रकार थापाको शव गाड्न मात्र सघाएको भन्दै कसूर अनुसार बढीमा २ वर्ष कैद गरेको थियो ।
तत्कालिन जिल्ला न्यायाधीश डिल्लीरत्न श्रेष्ठको इजलासले त्यसबेला थुनामा रहेका निरकबहादुर घर्ती, हरिलाल पुन र जयबहादुर शाहीलाई दुई–दुई वर्ष तथा लक्षिराम घर्तीमगरलाई एक वर्ष ६ महिना र बीरबहादुर केसीलाई एक वर्षको कैद सजाय सुनाएको थियो ।
दुई वर्षको कैद सजाय तोकिएका निरक घर्ती पनि जिल्लाको फैसला हुँदा एक वर्ष सात महिना एक दिन कैदमा बसिसकेका थिए भने त्यसपछि चार महिना २९ दिन कैदमा बसेर उनी पनि थुनामुक्त भएका थिए ।
जिल्ला न्यायाधीश श्रेष्ठको इजलासले हत्या घटनाका मुख्य आरोपितहरु ५ जना साविकको छिउडीपुसाकोट गाविस–१ हाल दुल्लू नगरपालिका–६ का अरुण भन्ने बमबहादुर खड्का र केशव खड्का साविकको कट्टी गाविस—७ हाल भगवतीमाई गाउँपालिका–६ मुक्ति भन्ने बमबहादुर खड्का, बाँकेको कोहलपुर नगरपालिका–३ का भक्तिराम लामिछाने फरार फरार रहेको कारण गिरफ्तार परेका बखत मुद्दा जगाउन सकिने गरी मुल्तवीमा राख्ने फैसला सुनाएको थियो ।
पत्रकार थापालाई नियन्त्रणमा राखेको बेला गरिएको कुटपिटको कारण ज्यान गएको भन्दै घटनाको ४ वर्षपछि २०६५ भदौ १२ गते डेकेन्द्रकी पत्नी लक्ष्मी थापाले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिनुभएको थियो ।
जिल्ला अदालतको फैसलामा २०६९ पुसमा गिरफ्तार परेकाहरुलाई दिइएको सजाय भएको भन्दै वादी पक्ष र आफूहरुले शव गाड्न मद्दत गरेकै कारण दोषी करार नहुनुपर्ने भनी प्रतिवादीहरूले गरको पुनरावेदन अदालत सुर्खेतमा परेका निवेदन सन्दर्भमा तत्कालिन पुनरावेदन अदालतका न्यायाधीशद्वय दीपकराज जोशी र कुमारप्रसाद पोखरेलको इजलासले २०७० असार २० गते जिल्लाकै फैसला सदर गरेको थियो ।
खानेपानी उपभोक्ता समितिका अध्यक्ष समेत रहेका पत्रकार थापालाई मुखान मर्मतका लागि सिमेण्ट र निर्माण सामग्री लिइ गएको बेला नारायण नगरपालिका–५ भैंसेखोरबाट २०६१ असार १२ गते तत्कालिन भूमिगत नेकपा माओवादीका कार्यकर्ताले अपहरण गरी लिएका थिए ।
अपहरण गरेको डेढ महिनापछि २०६१ साउन २७ गते दिउँसो साविकको द्वारी गाविस–१ नेपाल राष्ट्रिय आधारभूत विद्यालयभित्र दिइएको यातनाको कारण ज्यान गएको प्रहरी अनुसन्धान र अदालतमा प्रत्यक्षदर्शीहरुले खुलाएका थिए ।
तत्कालिन भूमिगत नेकपा माओवादीले चलाएको सशस्त्र युद्धको चरम उत्कर्षको समयको घटनामा पत्रकार थापाको हत्याको घटना पत्रकार मारिएको घटनाले सर्वत्र आलोचना भएको कारण परिवारलाई शव देखाउन चाहेको थिएन ।
युद्धकालमा शवको खोजी गर्न नसकेका परिवारलाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को पहलमा घटनाको ४ वर्षपछि २०६५ साउनमा थापाको शव गाडिएको ठाउँ पत्ता लागेपछि राष्ट्रिय मानव अधिकार आयोग र नेपाल पत्रकार महासंघको सक्रियतामा उत्खनन् गरी शवको कंकाल निकाली परिवारजनले २०६५ साउन १८ गते हिन्दू संस्कार अनुसार दाहसंस्कार गरेका थिए ।
पत्रकार थापाको हत्या गरिएको खवर प्राप्त भएपछि माओवादी पक्षसंग शव माग्दा दिन नचाहेको कारण कुशको शव बनाई २०६१ साउन ३२ गतेदेखि काजक्रिया गरिएको थियो । पत्रकार थापाकी पत्नी, २ छोरी र १ छोरा छन् । हत्या हँुदा पत्रकार थापा ३३ वर्षको हुनुहुन्थ्यो ।

प्रतिक्रिया