बहुविवाहमा उजूरी गर्नेहरु माइतीका शरण !

बहुविवाहमा उजूरी गर्नेहरु माइतीका शरण !

महिला हिंसा सम्बन्धि आयोजित अन्तरक्रिया

अमर सुनार, दैलेख : महाबु गाउँपालिका–४ रानीवनकी २६ वर्षीया डीलाकुमारी सिजालीको २७ वर्षीय श्रीमान छविलाल बलामीसंग विवाह ४ वर्ष भएको थियो, ०७३ फागुन १८ गते बहुविवाह गरे । उनका श्रीमानले महाबु गाउँपालिका–३ सुवाकोटकी २१ वर्षीया रबि बुचामगरसँग बहुविवाह गरेका हुन् । डिलाले १२ दिनपछि फागुन ३० गते जिल्ला प्रहरी कार्यालय दैलेखमा उजुरी दिनुभयो ।
प्रहरीले छविलाललाई ०७३ चैत ३ गते गिरफ्तार गरी ल्यायो, राजनीतिक दबावमा मुद्दा दर्ता गर्न दिइएन । त्यसबेला डिला घर जानपाउनुपर्ने बिषयमा ठालूहरुले चासो राखेनन् । अहिले छविलाल र रबि घरजम गरेका छन्, डिला चाहिं चामुण्डाबिन्द्रासैनी नगरपालिका–२ चाल्ने चौतारास्थित माइतीमा आश्रय लिइराख्नुभएको छ ।
दुल्लू नगरपालिका–१३ मालिकाकी २३ वर्षीया गौरा कुमाल घरमा हुँदै २६ वर्षीय श्रीमान सुरज कुमालले दुल्लू नगरपालिका–५ छिउडीकी १९ वर्षीया सरस्वती बिकलाई ०७५ कात्तिक १६ गते दोश्रो श्रीमतिको रुपमा भित्र्याए । यो विषयमा गौराले कात्तिक २७ गते बहुविवाह उजूरी दिनुभयो ।
मुद्दा चलेपछि घरमा पारिवारजनबाट असहज भएका कारण २ छोरीहरु सहित अहिले भैरबी गाउँपालिका–४ भैरीस्थित माइतीमा बस्तै आउनुभएको छ ।
घरमा ३५ वर्षीया श्रीमति भविकला मगर घरमा हुँदै बहुविवाह गरेका भनेर गुराँस गाउँपालिका–७ ओखडेनीका ३६ वर्षीय मानबहादुर मगरले ०७५ फागुन १९ गतेसोही ठाउँकी ३४ वर्षीया तुली रोका बिरुद्ध बहुविवाह भविकलाले फागुन २५ गते बहुविवाहको उजूरी गर्नुभयो ।
उजूरी अदालत पुग्यो अनि मानबहादुरलाई १ वर्ष कैद र १० हजार जरिवाना तर तुलीले घरमा सौता छ भन्ने थाहा नपाई आएकी भन्ने बयानको आधारमा सफाई पाइन । तुलीले ढाटिन्, अदालतले उनकै कुरा पत्यायो । मानबहादुरले कैद भुक्तान गरेर अहिले तुलीसंगै घरमा गई बसेका छन् ।
भविकला मानबहादुरसंगको बैवाहिक सम्वन्धबाट जन्मेका २ छोरा र १ छोरीको पालनपोषण र शिक्षादीक्षा समेत सुर्खेतको बीरेन्द्रनगरपालिका–११ गाग्रेतालस्थित माइतीको भार बन्नु परेको छ । कानूनले बहुविवाह गर्ने महिलाको विवाह दर्ता हुदैन भन्ने सुन्नुभएकी भविकला आफ्ना श्रीमान र सौताले कानूनलाई चुनौती दिएको बताउनुहुन्छ ।
माथि उल्लेखित घटनाहरु अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को नेपाल मानव अधिकार वर्ष पुस्तकमा सन् २०१७, २०१८ र २०१९ अवधिका एक–एक वटा प्रतिनिधि घटना ह्न् । वर्ष पुस्तकमा छापिएका बहुविवाहकै घटना केलाउँदा २०१७ मा ९ वटा, २०१८ मा १७ र २०१९ मा १८ वटा बहुविवाहका घटना अभिलेखीकरण भएका छन् ।
इन्सेकको जानकारी आएका मात्र अभिलेखीकरणमा परेका यी ४४ वटा सबै घटनाहरु बारे इन्सेक जिल्ला प्रतिनिधिले गरेको खोजबिनमा बहुविवाह उजूरी दिने सबै महिलाहरु सबैजसो माइतीको संरक्षणमा बसेका छन् । भैरवी गाउँपालिका–४ गडाजिउलाकी डम्वरकुमारी रावत बाहेक हिंसा पीडित महिला सबैजसो उजूरी गरेपछि घरबाट निकालिएका छन् ।
२०७४ चैत ९ गते गुप्ताङ्गमा प्लाष्टिक पाइपले घोचेर मराणासन्न बनाएको घटनामा परेको उजूरीमा अदालतले घरेलु हिंसा र ज्यानमार्ने उद्योग समेतमा ५ वर्ष कैद तोके अनुसार पीडक उहाँका श्रीमान सूर्यबहारदुर रावत कारागारमा भएको कारण व्यापार समेत धान्न डम्वरकुमारी आफ्नै घरमा हुनुहुन्छ । श्रीमानले कैद भुक्तान गरी आए आफ्नो बसाई पनि घरमा हुनेमा डम्वरकुमारी सशंकित हुनुहुन्छ ।
नेपाल मानव अधिकार वर्ष पुस्तककै तीन वर्षमा महिला माथि हिंसा भएको घटनामा प्रहरी र अदालतमा मुद्दा प्रक्रिया पुगेका घर निकाला, खानलाउन नदिएको लगायतका घरेलु हिंसाका ९७ वटा घटना छन् । अभिलेखीकरण छुटेका र जानकारी नआएका घटना पनि हुन सक्ने महिला सशक्तिकरण मञ्चका उपाध्यक्ष सविना बिश्वकर्माको टिप्पणी छ ।
अहिले दैलेख जिल्ला अदालतमा चलिरहेका मुद्दाको संख्या केलाउँदा यो आर्थिक वर्षको ७ महिना अवधिमा श्रीमानबाट २ जना महिलाको हत्या भएको, ११ वटा बहुविवाह, १६ वटा जवरजस्ती करणी, ५ वटा बालविवाह, १२ वटा घरेलु हिंसा र ६७ जना महिलाले हिंसा सहेर घरबार गर्न सक्दिन भनेर सम्वन्ध बिच्छेदको मुद्दा दर्ता गराएका छन् ।
बहुविवाह उजूरी गरेपछि आफू बिल्लीबास उठ्छ र माइतीको बोझ बन्नुपर्छ भन्ने पहिले थाहा पाएको भए दुल्लू नगरपालिका–१३ मालिका घर भई दुल्लू नगरपालिका–५ छिउडी बस्तै आउनु भएकी गौरा कुमालको दुखेसो छ ।
धेरैले पढाई छोडेर बालविवाह गर्ने आर्थिक रुपमा आत्मनिर्भर हुन नसकेको कारण बहुविवाह गरेका धेरै महिला माइतीमा बस्न बाध्य भएका महिला तथा बालबालिका सेवा केन्द्रका संयोजक रमा श्रेष्ठले बताउनुभयो ।
पहिले सहमती जनाइएका अवस्थामा अरु पारिवारिक विवादले धेरै बहुविवाह आएका अधिवक्ता सुरेन्द्र अधिकारीको टिप्पणी छ । बहुविवाह रोक्नका लागि समाजको सचेतना अझैं आवश्यकता रहेको उहाँले औल्याउनुभयो ।
पहिले मुलुकी ऐन २०२० मा ३ बढीमा कैदसम्म कैद र ३० हजार रुपैंयाँसम्म जरिवानाको व्यवस्था भएकोमा अहिले मुलुकी अपराध सहिंता २०७४ ले बहुविवाह गर्ने केटा र केटी दुबैलाई ५ वर्ष कैद र ५० हजारसम्म जरिवाना, कान्छी हुन आउनेले वैवाहिक मान्यता नपाउने कडा कानूनी व्यवस्था हुँदा पनि दैलेखमा बहुविवाह संख्या घटेको छैन, वर्षेनी बढ्दै गरेको छ ।
हिंसा पीडित महिलालाई कानूनी संरक्षण छ भन्ने मान्यताका आधारमा उजूरी गर्ने तर उजूरीपछि विवाह भएको घरबाट अपहेलित हुने, घर निकालामा पर्नेसंगै उनीहरु सम्श्रीमान, माया र सहयोग नपाएपछि माइतीको संरक्षण जानुपर्ने वाध्यता सिर्जना भएको छ । हिंसा पीडित महिलाहरुको संरक्षण राज्यको दायित्व हुनुपर्ने महिला सशक्तिकरण मञ्चका उपाध्यक्ष बिश्वकर्माको सुझाव छ ।

प्रतिक्रिया