मर्यादित महिनावारी बनाउने प्रतिबद्वता

मर्यादित महिनावारी बनाउने प्रतिबद्वता

ज्वाला सन्देश संवाददाता
दैलेख :
‘महिनावारीको रगत फोहोर होइन, महिनावारी बार्ने चलन हाम्रै पुर्खा देखि चलि चलन आएको हो, हाल केहि कमी भने आएको छ, हाम्रा दिदिबहिनी महिनावारी भएको थाहा भए मात्रै नकारात्मक दृष्टिकोणले हेर्छौ, थाहा नभएसम्म कुनै अनर्थ भएको छैन् ।’ यो महाबु गाउँपालिका–२ वडाखोलाका धामी दलबहादुर सुनारको भनाई हो ।

गाउँमा कहलिएका धामी सुनार भन्छन् ‘महिनावारी बार्नु भ्रम मात्रै हो ।’ महिनावारीलाई मर्यादित बनाउनुको विकल्प नभएको उनले बताए । उनिजस्तै अर्का धामी भिमबहादुर थापा भन्छन् ‘प्रजनन उमेरमा स्वस्थ महिलामा हुने प्राकृतिक चक्र नै महिनावारी हो तर, धर्म, संस्कार र संस्कृतिका कारण यस्तो कुचलनले जरो गाड्दै गयो ।’ महिनावारी बार्ने चलन कुसंस्कार भएपनि एक्कासी अन्त्य नहुने उनको भनाई छ ।

‘समाजमा चेतनास्तर बृद्विसँगै महिनावारी भएको समयमा घरपरिवारमा छोइहालेमा घरमा अनिष्ट हुने, देवीदेवता रिसाउने, पाप लाग्छ भन्नेजस्ता रुढीबादी र अन्धविश्वासबाट समाज मुक्त हुन्छ,’ उनले भने । थापाले महिनावारीलाई मर्यादित बनाउने प्रतिबद्वता जनाए । धामीद्वय भिमबहादुर र दलबहादुर सुनार जस्तै महाबु गाउँपालिका वडा नम्बर २ वडाखोला र वडा नम्बर ३ बासीका धामी, झाक्री, पुजारी, राजनीतिक दल, शिक्षक, विद्यार्थी, स्वास्थ्यकर्मीहरुले महिला हिंसा मुक्त समाजका लागि महिनावारीलाई मर्यादित बनाउने प्रतिबद्धता जनाएका छन् ।
दुई वटै वडामा राजनीतिक दल, धामी, झाक्री, पुजारी, शिक्षक, स्वास्थ्यकर्मी, विद्यार्थी र बाल क्लबका पदाधिकारीहरुलाई लक्षित गर्दै आयोजित ‘मर्यादित महिनावारी ः हामी सबैको जिम्मेवारी’ विषयक अन्तरक्रियामा किशोरीहरुले अहिले पनि अभिभावकलाई महिनावारी भएको जानकारी नगराएर घरभित्रै बस्दै आएको बताएका छन् ।

राधा पौडेल फाउन्डेशनको आर्थिक सहयोग, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र महाबु गाउँपालिका वडा नम्बर २ र ३ को समन्वयमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखद्धारा आयोजित कार्यक्रममा मर्यादित महिनावारी भनेको के हो ? मर्यादित महिनावारी, महिनावारीको भएको समयमा महिला माथी गरिने विभेदबारे छलफल गरिएको सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका मनोविमर्शकर्ता निर्मला विसीले बताइन् । मनोविमर्शकर्ता बिसीका अनुसार राजनीतिक दल र धामी पुजारीहरु लक्षित गर्दै बासी र वडाखोलामा दुई/दुई दिने, शिक्षक र स्वास्थ्यकर्मीहरुलाइ लक्षित गर्दै बासी र वडाखोलामा दुई/दुई दिने अन्तरक्रिया कार्यक्रम गरिएको थियो ।
यस्तै विद्यार्थी र बाल क्लबका पदाधिकारीहरुलाई लक्षित गर्दै बासी र वडाखोलामा एक/एक दिने अन्तरक्रिया गरिएको विसीले बताइन् । कार्यक्रममा सेनेटरी प्याड निर्माण गर्न समेत सिकाइएको सामाजिक सेवा केन्द्र (सोसेक) नेपालका सहायक निर्देशक दुर्गा गिरीले बताइन् । उनका अनुसार महिनावारी स्वच्छता व्यवस्थापन सम्बन्धि ल्याब प्रर्दशनीसँगै महिनावारीलाई मर्यादित बनाउन राजनीतिक दल, धामी, झाक्री, पुजारी, शिक्षक, स्वास्थ्यकर्मी, विद्यार्थी र बाल क्लबका पदाधिकारीको भूमिकाबारे छलफल गरिएको छ ।

प्रतिक्रिया