सबैको पहुँचमा मिर्गौला स्वास्थ्य

सबैको पहुँचमा मिर्गौला स्वास्थ्य

विश्व मिर्गौला दिवस

डा. पुकारचन्द्र श्रेष्ठ – मिर्गाैला रोग एक प्रकारको नसर्ने रोग हो। यसबाट विश्वभर करिब ८५ करोड जनसंख्या पीडित छन्। प्रत्येक १० मध्ये १ जना दीर्घकालीन मिर्गौला रोगको सिकार भएको छ भने विश्वभर यसबाट प्रभावित हुने संख्या बढ्दो छ। सन् २०४० सम्म यो रोग मृत्युको प्रमुख पाँचौं कारण हुन पुग्नेछ।

वर्तमान अवस्थामा मिर्गाैला रोग रोकथाम गर्न सकिन्छ। समयमै निदान र उचित उपचारबाट मिर्गाैला फेल हुने गतिलाई कम गर्न सकिन्छ। धेरैजसो राष्ट्र«मा नसर्ने रोगसम्बन्धी नीति र रणनीति नभएका होइनन् तैपनि यससम्बन्धी शिक्षा र जनचेतना अभियान तथा मिर्गाैला रोगको जाँच र उपचार व्यवस्थापनमा अपेक्षा गरिएभन्दा धेरै कम प्रयास भएकोे देखिन्छ।

यस रोगको रोकथामको महत्व बुझाउन जनसाधारण, व्यावसायिक समूह र नीति–निर्मातामाझ व्यापक चेतना जगाउनु आवश्यक छ। यस वर्षको विश्व मिर्गाैला दिवसले विश्वभर द्रुतगतिमा बढिरहेको मिर्गाैला रोग र स्वास्थ्यका लागि सबै क्षेत्रको जनमानसमा चेतना अभिवृद्धि गर्ने उद्देश्य राखेको छ। विशेष गरी सन् २०२० को विश्व मिर्गाैला दिवसको उद्देश्य मिर्गाैला रोग लाग्दै नलागोस् र लागिसकेको खण्डमा थप क्षति नहोस् भन्ने उद्देश्यले रोकथामको उपाय अपनाउनु हो।

तीन किसिमबाट रोकथाम गर्न सकिन्छ :

१, प्रारम्भिक रोकथाम : रोग लाग्नुअगावै गरिने रोकथामका उपाय।

२, मध्यमस्तरीय रोकथाम : रोगको सुरुकै अवस्थामा तत्काल निदान र उपचार गरी थप क्षति हुन नदिने।

३, अन्तिम उपाय : पूर्णरूपमा रोगले आक्रान्त गरेको अवस्थामा यसको सही उपचार र थप क्षति हुन नदिन नियन्त्रणका उपाय अपनाउने।

विशेष गरी प्रारम्भिक रोकथाममा मधुमेह, उच्च रक्तचापजस्ता जोखिमपूर्ण अवस्थाको व्यवस्थापन र अस्वस्थ खानपिनमा सुधार, मिर्गाैला र पिसाबनलीका समस्याको समाधान तथा विषाक्त पदार्थको नियन्त्रणसमेत हुन्। प्रारम्भिक रोकथामका उपायले स्वस्थ जीवनशैलीजस्तै शारीरिक व्यायाम र उचित आहार सेवन, दीर्घकालीन मिर्गाैला रोगको उच्च जोखिम भएकाहरूमा विशेष निगरानी, रगत र पिसाबको जाँच र दीर्घकालीन मिर्गाैला रोगीको अभिलेख (रजिस्ट्री) मा दर्ता हुन सल्लाह दिइएको छ।

मध्यमस्तरीय रोकथाममा उच्च रक्तचाप र मधुमेह नियन्त्रण गर्नु मुख्य उद्देश्य हो। यसका लागि न्यूनतम नुन र प्रोटिन सेवन गर्नुका साथै वनस्पतिजन्य खाना खाऔं र चिकित्सकीय ज्ञानको पनि सही प्रयोग गरौं। उच्च जोखिममा परिसकेका मिर्गाैला रोगीलाई उच्च युरिया (मिर्गाैलाको क्षमतामा ह्रास आएमा बढ्ने केमिकल) भएका र मुटु–नशासम्बन्धी समस्या भएकाहरूमा थप समस्या पनि हुन सक्ने हुँदा उचित व्यवस्थापन गरिनु आवश्यक हुन्छ।

दीर्घकालीन मिर्गाैला रोगको उपचार अति नै महँगो हुने हुँदा रोकथामका उपाय विशेष गरी प्रारम्भिक उपायजस्तै रोगका कारक तŒवको उचित व्यवस्थापन गर्नु महत्वपूर्ण हुन्छ। तसर्थ जोखिमयुक्त विषयमा बिरामीमा जनचेतना जगाउने, शिक्षित बनाउने र ती जोखिमबाट बचाई मिर्गाैला रोगको भार कम गर्नु अति जरुरी छ। साथै, स्वास्थ्यकर्मीका लागि सीप अभिवृद्धि तालिमको पनि व्यवस्था गरिनुपर्छ।

विश्व मिर्गाैला दिवस २०२० ले प्रत्येक देशको सबै नागरिकमा रोगको रोकथाम गर्न र रोगबाट बच्न÷बचाउन ठोस उपाय अपनाउन जोड दिएको छ।

१, प्रारम्भिक उपचार, जनचेतना अभिवृद्धि तथा बिरामीको सशक्तिकरणलगायत विषयको तालिमसहितको शिक्षा।

२, नसर्ने रोगको नियन्त्रण कार्यक्रममा दीर्घकालीन मिर्गाैला रोगको रोकथामलाई बृहत् रूपमा अभियान चलाई सुरुकै अवस्थामा रोग पत्ता लगाउने र राष्ट्रियस्तरमा दीर्घकालीन रोगको अभिलेख राख्ने वातावरण मिलाउने।

३, सबै तहको सरकार र समाजका नीतिमा बहुआयामिक समझदारीबाट मिर्गाैला रोगको रोकथाम र उचित व्यवस्थापनको प्रवद्र्धनमा विशेष ध्यान दिने।

नेपालमा मिर्गौला प्रत्यारोपण सुरु भएको धेरै भएको छैन। सन् २००८ को अन्त्यतिर त्रिवि शिक्षण अस्पताल र वीर अस्पतालमा मिर्गाैला प्रत्यारोपण सुरु भएको हो। जनचेतना अभावमा जुन गतिमा अंगदान र प्रत्यारोपण हुनुपर्ने हो त्यो हुन सकेको छैन। तसर्थ यस क्षेत्रमा उचित कदम चाल्नुपर्छ भन्ने उद्देश्यले सन् २०१० मा स्थापित आरोग्य प्रतिष्ठान र विशेष गरी सन् २०१३ मा स्थापित भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्रयासमा अंगदानसम्बन्धी व्यापक जनचेतना अभिवृद्धि गर्ने प्रयास गरिँदैे आएको छ। नियमित अंगदान शिविर, प्रत्यारोपण खेलकुद, अंगदान र प्रत्यारोपणसम्बन्धी गोष्ठी तथा सम्मेलन हुँदै आएका छन्।

करिब ८ वर्षको प्रयासमा नेपालमा क्रमशः ०७२ र ०७३ सालमा प्रत्यारोपण ऐन र नियमावाली संशोधन भएयता मस्तिष्क मृत्युबाट प्राप्त हुने अंगदानबाट समेत ६ जनाको मिर्गौला प्रत्यारोपण र एक जनाको कलेजो प्रत्यारोपण भएको छ। स्वस्थ व्यक्तिको अंगदानबाट हुने मिर्गाैला प्रत्यारोपणको संख्यामा केही वृद्धि भएको देखिन्छ।

वीर अस्पतालमा भएको पहिलो ९९ जनाको मिर्गाैला प्रत्यारोपण र भक्तपुरस्थित प्रत्यारोपण केन्द्रको ७ वर्षको अवधिमा भएका जम्मा ६ सय ९३ जनाको मिर्गौलासमेत गरी झन्डै ८ सय जनाको मिर्गौला प्रत्यारोपण भएको छ। त्यसमा ९९ प्रतिशत सफलता हात परेको छ। यो सकारात्मक पक्ष भए पनि यस क्षेत्रमा धेरै कार्य गर्न बाँकी छ। अझ ठूलो उपलब्धि, प्रधानमन्त्रीज्यूको मिर्गाैला प्रत्यारोपण स्वदेशकै अस्पतालमा भएबाट हामी सबै स्वास्थ्यकर्मी र मिर्गौलारोगीहरू गौरवान्वित भएका छौं।

प्रतिक्रिया