सोलार लिफ्टबाट खानेपानी

सोलार लिफ्टबाट खानेपानी

दैलेख : भैरवी गाउँपालिका–१ मा वर्षौंदेखिको खानेपानी समस्या समाधान गर्न सोलार लिफ्ट योजना सञ्चालन गरिएको छ । खानेपानीको अभाव खेपिरहेका ४५ घरका बासिन्दालाई राहत मिलेको छ । विद्युत् नपुगेकाले गाउँमा सौर्यऊर्जा जडान गरी योजना सञ्चालन गरिएको छ । स्थानीयबासी हरिसरा सुनारले पानीको मुहान तल र बस्ती माथि हुँदा लामो समयदेखि खानेपानी समस्या भोगेको बताइन् । ‘पानी लिन दुई घण्टा हिँडेर खोला पुग्नुपर्ने बाध्यता थियो,’ उनले भनिन्, ‘खोलामा पालो नपाउँदा घण्टौं लाइन लाग्नुपर्ने समस्या पनि भोगियो ।’ पानीकै कारण बालबालिकाको पढाइ प्रभावित हुँदै आएकोमा अहिले नियमित बनेको उनको भनाइ छ । उनका अनुसार पानीको लागि राति उठेर खोला जानुपर्दा जोखिम मोल्नुपर्ने अवस्था थियो ।
गाउँमा खानेपानी सुविधा पुगेपछि विकास भित्रिएको अनुभव भएको सुनारले बताइन् । उपभोग गरेर बचेको पानी करेसाबारीमा प्रयोग गर्दै आइरहेको उनको भनाइ छ । ‘खानेपानी समस्याकै कारण बिहानको खाना कहिल्यै समयमा पाकेन,’ उनले भनिन्, ‘बालबालिका बासी खाना खाएर विद्यालय जान बाध्य थिए, पानीका लागि खर्चिनुपर्ने समय अन्य काममा लगाएका छौं ।’ उनका अनुसार गाउँमै धारा बनेपछि पशुचौपायालाई पानी खुवाउन र सरसफाइ गर्न सजिलो भएको छ ।
उमेर ढल्कदैं गएपछि गाउँकै धारामा स्वच्छ पानी भर्ने सपना पूरा भएको स्थानीयबासी कृपाराम ओलीले बताए । उनका अनुसार पहिले कुवामा बिहानैबाट लाइन बस्नुपर्ने बाध्यता थियो । कहिलेकाहीँ कुवाको पानी सकिए रित्तै फर्किनुपर्थ्यो ।
योजनाका प्राविधिक जंग रावलले एक दिनमा ८ हजार लिटर पानी लिफ्टबाट टंकीमा जम्मा हुने बताए । बस्ती ठूलो भएकाले पायक पर्ने पाँचवटा टोलमा धारा निर्माण गरिएको उनको भनाइ छ । उनका अनुसार ५० लाख रुपैयाँको लगानीमा योजना सम्पन्न भएको हो । ग्र्रामीण जलस्रोत व्यवस्थापन परियोजनाको सहयोगमा विद्यालय, वडा कार्यालय र स्वास्थ्यचौकीमा पनि धारा जडान गरिएका छन् । वडाध्यक्ष काँशीराम कार्कीले वडामा पर्याप्त बजेट नआउँदा खानेपानी योजना सञ्चालन गर्न नसकिएको बताए । ‘काकाकुल गाउँमा खानेपानीको सुविधा पुगेको छ,’ उनले भने, ‘योजनालाई दिगो बनाउन स्थानीयबासीको सक्रियता जरुरी छ ।’

प्रतिक्रिया