पेट्रोलियम पदार्थको अन्वेषण : सेस्मिक सर्भे सकेर फर्कियो चिनियाँ प्राविधिक टोली

पेट्रोलियम पदार्थको अन्वेषण : सेस्मिक सर्भे सकेर फर्कियो चिनियाँ प्राविधिक टोली

नेपाल सरकार र चीन सरकारबीच भएको सम्झौता बमोजिम दैलेख जिल्लामा सञ्चालित पेट्रोलियम पदार्थको अन्वेषण परियोजना अन्तर्गत सेस्मिक सर्भे सम्पन्न भए पश्चात् कदर पत्र आदानप्रदान हुँदै ।
तस्विर सौजन्य : जिल्ला प्रशासन कार्यालय दैलेख

दैलेख : पेट्रोलियम पदार्थको अन्वेषणका क्रममा श्रीस्थान, नाभिस्थान, पादुका लगायत विभिन्न क्षेत्रमा गरिएको ‘सेस्मिक सर्भे’ को काम सम्पन्न भएको छ । दैलेखको पेट्रोलियम पदार्थ भण्डारणको रुपमा रहेको श्रीस्थान, नाभीस्थान पादुका लगायतका क्षेत्रमा देखिएको पेट्रोलियम पदार्थको अन्वेषणका लागि दैलेखमा रहेको चिनियाँ प्राविधिक टोली पहिलो चरणको अन्वेषणका काम सम्पन्न गरी फर्किएको हो ।
कात्तिक महिनामा दैलेखमा आएको चीनको प्राविधिक टोली र खानी तथा भूगर्भ विभागको टोली पहिलो चरणको अन्वेषणको काम सम्पन्न गरेर फर्किएको हो । खानी तथा भूगर्भ विभागका भूगर्भविद् डा. गणेश त्रिपाठीले पेट्रोलियम पदार्थको अन्वेषणका लागि खटिएको चारवटा टोलीले काम सम्पन्न गरेर फर्किएको बताए । दैलेखमा आएको चार वटा टोली मध्ये पहिलो टोलीले सर्भे गरेर नक्सा निर्माण, दोस्रो टोलीले जीओलोजिकल सर्भे गरी जमिनको सतहमुनिको अवस्थाका विषयमा अनुसन्धान, तेस्रो टोलीले अन्वेषणका लागि आवश्यक पर्ने औजारहरु मगाउने र चौथो टोलीले सेस्मिक सर्भे गरेर फर्किएको त्रिपाठीले बताए ।
जिल्लाको डुङ्गेश्वर गाउँपालिका – १ बेलपाटाको चुप्रामा र दुल्लु नगरपालिका –५ दुल्लू अस्पतालमा नजिकै बेस क्याम्प निर्माण गरी चार महिना भन्दा बढी दैलेख बसेको टोलीले दुल्लू नगरपालिका, भैरवी गाउँपालिका, महाबु गाउँपालिका र नारायण नगरपालिका क्षेत्रलाई विशेष केन्द्रित र चामुण्डाबिन्द्रासैनी नगरपालिका, डुङ्गेश्वर गाउँपालिका, नौमुले गाउँपालिका र भगवतिमाई गाउँपालिकालाई केही भू–भाग समेटेर दशवटा सेस्मिक लाइनहरुमा जम्मा दुईसय लाईन किलोमिटर सर्भे गर्न चारसय वर्ग किलोमिटर भूभाग समेटेर सर्भे गरेको थियो ।
अन्वेषणका लागि पेट्रोलियम जिओलाजिकल सर्भे, म्याग्नेटो टेल्युरिक सर्भे, जिओकेमिकल स्याम्पलिङ गरि महत्वपूर्ण मानिएको सेस्मिक सर्र्भे हो । विभागका भूगर्भविद् त्रिपाठीका अनुसार यो कार्य अन्तर्गत कृत्रिम भूकम्प सिर्जना गरी उत्पन्न गरिएको भूकम्पीय तरङ्गहरु जमिनको सतहमुनिको धेरै गहिराईसम्म पठाएर सतहमुनि ठोक्किएर फिर्ता भएका तरङ्गहरुलाई सतहमा गाडिएका सेन्सरहरुमा रेकर्ड राख्ने र रेकर्ड गरिएका विभिन्न गहिराईबाट परावर्तन भई आएका तरङ्गहरुको प्रशोधन गर्ने र त्यसबाट तयार भएका तरङ्गहरुहरुको सुक्ष्म अध्ययन गरी पेट्रोलियम पदार्थको भण्डार हुन सक्ने भौगर्भिक संरचना पहिचान गर्ने काम सम्पन्न गरेर टोली फर्किएको हो ।
फागुनको दोस्रो साता काम सम्पन्न गरेको टोलीलाई दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले औपचारिक रुपमा बिदाई गरेका छन् । पेट्रोलियम पदार्थको अन्वेषणका क्रममा सुरक्षा प्रबन्ध मिलाएर सहयोेग गरेको भन्दै चीनको प्राविधिक टोलीले प्रमुख जिल्ला अधिकारीलाई धन्यवाद समेत दिएको छ । प्रजिअ कटेलले चीनबाट एक सय ४० जनाको प्राविधिक टोली आएको भए पनि सात जनाको टोली बाहेक अरु सबै फर्किएको बताए । उनले चुप्रामा रहेको बेस क्याम्प व्यवस्थापन गर्न सात जनाको टोली जिल्लामै बसेको बताए ।

प्रतिक्रिया