अनुमतिबिना पोशाकमै भारतीय प्रहरी दैलेखमा

अनुमतिबिना पोशाकमै भारतीय प्रहरी दैलेखमा

हिक्मतबहादुर नेपाली
दैलेख :
भारतीय प्रहरी पोशाकसहित दैलेखमा आइपुगेका छन् । उनीहरु सोमबार साँझ दैलेख आएको भएपनि मंगलबार बिहान पोशाकसहित जिल्ला सदरमुकाममा खुलेयाम हिँडिरहेको देखेपछि स्थानीयले बिरोध समेत जनाएका छन् । भारतीय प्रहरीले स्थानीय प्रशासन र प्रहरीलाई कुनै पनि जानकारी नदिइ दैलेख आएको पाइएको छ । उनीहरुले बिहान मात्रै जिल्ला प्रहरी कार्यालयमा आफूहरु दैलेख आएको जानकारी गराएका थिए। भारतीय प्रहरीका सई विजय विवेकको नेतृत्वमा ३ जना प्रहरीसहित ४ जनाको टोली दैलेख आएको हो। 

भारतको हरियाणा प्रदेश यमुनानगर जिल्लाबाट तीनजना प्रहरीसहितको चारजनाको टोली दैलेख आएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक उपेन्द्रप्रसाद आचार्यले जानकारी दिए । भारतमा काम गर्दै आएका दैलेखका एक युवकले झण्डै ५० लाख रुपैयाँ चोरी गरी फरार भएपछि ती युवकको खोजी गर्न दैलेख आएको भारतीय प्रहरीले दैलेख प्रहरीलाई जानकारी गराएका छन् ।

‘उनीहरुले पोशाक लगाउनु हुँदैन भन्ने थाहा नभएको बताएपछि हामीले सादा पोशाकमा हिँड्न भनेका छौ,’ प्रहरी निरीक्षक आचार्यले भने, ‘उहाँहरुलाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको छैन, हाम्रो सम्पर्कमा आफै आउनु भएको हो ।’ 

प्रतिक्रिया