बहुविवाह गरेको बाह्र वर्ष पछि गिरफ्तार

बहुविवाह गरेको बाह्र वर्ष पछि गिरफ्तार

दैलेख चैत्र ४ गते ।
बहुविवाह गरेको १२ वर्षपछि कसूरदार दम्पतिलाई प्रहरीले चैत ३ गते गिरफ्तार गरेको छ । दैलेखको दुल्लू नगरपालिका–११ घर भई हाल सुर्खेतको बीरेन्द्रनगर नगरपालिका–६ पिपलचौतारा नजिक सुनचाँदी व्यवसायी ३३ वर्षीय डिलबहादुर सुनार र ३१ वर्षीया उनकी कान्छी पत्नी सन्तोषी सुनार गिरफ्तार भएका हुन् । सो मुद्दामा २०६५ असोज ८ गते तत्कालिन जिल्ला न्यायाधीश कुलप्रसाद शर्माले बहुविवाहको कसूर ठहर गर्दै डिलबहादुर सुनारलाई २ वर्ष कैदसंगै ५ हजार जरिवाना र कान्छी हुन आएकी सन्तोषी सुनारलाई १ वर्ष कैदसंगै १० हजार जरिवानाको फैसला भएको दैलेख जिल्ला अदालतको अभिलेखले जनाएको छ ।
बहुविवाह लगतै २०६४ जेठ ४ गते जिल्ला प्रहरी कार्यालयमा मुद्दा परेपछि कसूरदारहरु भागेर भारतमा लुकी बसेका तर फैसला भएको खवर सुनेपछि १० वर्षदेखि सुर्खेतमा सुनचाँदी व्यवसाय गर्दै आएका थिए । डिलबहादुर त्यतिबेलाकी जेठी पत्नी ‘दैलख ६२ क’ले फैसलाको ५ वर्षपछि मात्र अन्यत्र विवाह गरी दोश्रो पारिवारिक सम्वन्धबाट ५ वर्षको छोरा भइसकेको छ । डिलबहादुर र सन्तोषीका ३ छोराछोरी छन् ।
कैद तोकिएका व्यक्तिहरुको कैद असुल गर्न अदालतको आदेश अनुसार कसूरदारहरुलाई प्रहरीले सुर्खेतबाट चैत ३ गते गिरफ्तार गरी ल्याएकोमा जरिवाना असुल गरी उनीहरुलाई चैत ४ गते कारागार चलान गरिएको दैलेख अदालतका तहसिलदार अधिकृत शंकरप्रसाद अधिकारीले बताए ।
‘मलाई घर निकाला गरेर २०६४ वैशाख ३० गते सुर्खेतको बीरेन्द्रनगर नगरपालिका–३ उत्तरगंगाकी सन्तोषीलाई बाजागाजा सहित दोश्रो विवाह गरेको थिए, त्यही फोटो सहित बहुविवाह उजूरी गरको थिएँ’ उजूरीकर्ता डिलबहादुरकी त्यस बेलाकी जेठी पत्नी परिवर्तित नाम ‘दैलख ६२ क’ले भनिन् ।
‘१६ वर्षको उमेरमा मागी विवाह भयो, तीन वर्ष सौता पतिले हाले, मैंले सहन सकिन उजूरी गरें,’ उजूरी गरेको बेला ‘छोरीको मुद्दा जितौंला नभन्नू, जोईको मुद्दा हारौंला नभन्नू’ भन्थे अहिले कारागार गए भन्ने सुनेर न्याय पाएको महसुश भयो,’ ‘दैलख ६२ क’ले सन्तुष्टी व्यक्त गरिन् ।
दैलेख जिल्ला अदालतको फैसला कार्यान्वयन इकाई अनुसार अघिल्लो आर्थिकसम्मको अदालतमा परेका मुद्दामा कैद तोकिएका ३ सय १४ जना फरार सूचीमा छन् । फैसला कार्यान्वयन गराउन बाँकी मध्ये फौजदारी अभियोगमा कैद सजाय तोकिएका फरार कसूरदारहरुको संख्या बढी छ ।

प्रतिक्रिया