कर्णालीवासीका लागि सुरु भयो सामूहिक बिमा

कर्णालीवासीका लागि सुरु भयो सामूहिक बिमा

विपद्मा मृत्यु भएकाका परिवारलाई २ लाख ।
-बिमामा १७ लाख ७० हजार व्यक्ति आबद्ध ।

सुर्खेत : कर्णाली प्रदेश सरकारले कर्णालीवासीको सामूहिक विपद बिमा गरेको छ । प्राकृतिक प्रकोपमा परी मृत्यु भएमा बिमावापत मृतकका परिवारले २ लाख रुपैयाँ पाउने छन् । प्रदेश सरकारले गत असोज १ गते राष्ट्रिय बिमा कम्पनीसँग यससम्बन्धी सम्झौता गरेको थियो । आवश्यक सबै प्रक्रिया पूरा भएपछि शनिबार (चैत १) देखि बिमा कार्यक्रम कार्यान्वयन भएको छ । सुरुको सम्झौतामा विपद्बाट मृत्यु भएका परिवारले १ लाख रुपैयाँ राहत पाउने भनिएकोमा अहिले दोब्बर बनाइएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले १७ लाख ७० हजार कर्णालीवासीको सामूहिक बिमा गरिएको जानकारी दिए ।
उनका अनुसार ६ महिनाभन्दा बढी अवधि कर्णालीमै रहेर काम गरिरहेका कर्मचारीको पनि प्रदेश सरकारले बिमा गरिदिएको छ । यसअघिको सम्झौतामा प्रतिव्यक्ति ७ रुपैयाँका दरले बिमा कम्पनीलाई प्रिमियम बुझाउने उल्लेख भएकोमा संशोधिन सम्झौतामा प्रतिव्यक्ति ८ रुपैयाँ ४८ पैसा तिर्ने उल्लेख छ । सरकारले बिमा कार्यक्रमका लागि यस वर्ष १ करोड ५० लाख रुपैयाँ कम्पनीलाई बुझाएको छ ।
सरकारले विपद्को उच्च जोखिममा रहेका प्रदेशका १० हजार घरको पनि वार्षिक प्रतिघर ५ सयका दरले बिमा गरिदिएको छ । यसबापत प्रदेश सरकारले कम्पनीलाई वार्षिक ५० लाख रुपैयाँ तिर्नेछ । ‘पहिलो वर्ष आवास बिमाका लागि हामीले ‘ट्रायल’ गरेका हौँ, सफल भए निरन्तरता दिइनेछ,’ मन्त्री भण्डारीले भने, ‘कर्णालीमा जोखिममा रहेका घरहरू मात्रै छनोट गरी बिमा गरेका छौँ ।’ रकम भुक्तानी गर्दा वास्तविक क्षति मुल्यांकन गरी एक घरको अधिकतम ५ लाख रुपैयाँसम्म भुक्तानी दिइने उनले बताए ।
बिमा कम्पनीका कार्यकारी अधिकृत डिल्लीराज अधिकारीले स्थानीय र प्रदेश सरकारको सिफारिस तथा प्रहरीको मुचुल्काको आधारमा दाबी भुक्तानी दिइने बताए । उनका अनुसार दुर्घटनाबारे स्थानीय तहले घटना भएको १५ दिनभित्र कम्पनीलाई सिफारिस र घटनाको प्रकृतिबारे जानकारी दिनुपर्नेछ । प्राकृतिक विपद्बाहेक कालगतिले, सवारी दुर्घटनामा परेर वा विभिन्न खेल खेल्ने क्रममा मृत्यु भए बिमा रकम पाइने छैन । कर्णालीमा विभिन्न महामारी, भीरबाट लडेर, खोला वा नदीमा बगेर पनि धेरै नागरिकको मृत्यु हुने गरेको छ । तर, सरकारले गरेकोसामूहिक बिमाअन्तर्गत यसलाई प्राकृतिक विपद् मानिएको छैन ।

विपद्को उच्च जोखिमसंयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) ले गरेको अध्ययनअनुसार कर्णालीमा १० वर्षको अवधिमा विभिन्न ३ सय १३ विपद्का घटनामा परी ८ सय ८७ जनाको मृत्यु भएको छ । सन् २००९ देखि २०१८ सम्म सबैभन्दा बढी जाजरकोटमा २ सय ५५ जनाको विपद्का कारण मृत्यु भएको छ । तथ्यांकले जुम्लामा सबैभन्दा कम ३१ जनाको विपद्मा परी मृत्यु भएको देखाउँछ । तथ्यांकअनुसार रुकुममा १ सय, हुम्लामा ८९, सुर्खेतमा ७१, सल्यानमा ६७, कालीकोटमा ८४, दैलेखमा ९८, डोल्पामा ५६ र मुगुमा ३६ जनाको विपद्का घटनामा परी मृत्यु भएको छ । महामारी, बाढीपहिरो र आगलागीका कारण धेरै नागरिकको ज्यान गएको अध्ययनमा उल्लेख छ । महामारीबाट ३ सय ९०, पहिरोबाट १ सय ४८, आगलागीबाट ५९ र बाढीबाट ९८ जनाको मुत्यु भएको हो ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार दुर्घटना, भुकम्प, चट्याङ, हिमपात, हावाहुरी, संरचना भत्किएर पनि कर्णालीवासीको मृत्यु हुने गरेको छ । गत आर्थिक वर्षमा प्राकृतिक प्रकोपका कारण कर्णालीमा ५० जनाको मृत्यु भएको थियो । गत वर्ष बाढीबाट २५, पहिरो र चट्याङबाट ७/७, हावाहुरीबाट ६, आगलागीबाट ३ र हिमपहिरोका कारण २ जनाको ज्यान गएको छ । प्राकृतिक प्रकोपबाटै आर्थिक वर्ष २०७३/७४ मा १९ जना र २०७४/७५ मा ६२ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया