यस्तो बन्दै छ गुराँसेमा भ्यू टावर

यस्तो बन्दै छ गुराँसेमा भ्यू टावर

हिक्मतबहादुर नेपाली
दैलेख :
गुराँस र तरकारी खेतीले चर्चामा रहेको दैलेखको गुराँसे क्षेत्र पर्यटकको गन्तव्य स्थल बनाउन भ्यू टावर निर्माण थालिएको छ । समुन्द्री सतहदेखि करिब २५ सय मिटरको उचाईमा रहेको गुराँसेमा निर्माण थालिएको भ्यू टावरको काम अन्तिम चरणमा पुगेको छ ।

पर्यटक भित्र्याउन ५० फिट अग्लो भ्यू टावर निर्माण गर्न लागिएको हो । गुराँस गाउँपालिका वडा नम्बर ४ र ५ को सिमानामा निर्माण थालिएका भ्यू टावर सरस्वती सामुदायिक वनमा पर्छ । बसन्त ऋतुमा ढकमक्क फुलेका गुराँस र हिउँदमा हिउँ हेर्न गुराँसे क्षेत्रमा पर्यटकहरु आउने गर्छन् । 

आन्तरितक तथा बाह्य पर्यटकका लागि बाह्रै महिना घुम्नका लागि नयाँ पर्यटकीय स्थलको रुपमा भ्यू टावर निर्माण थालिएको हो ।  कर्णाली प्रदेश सरकारको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको क्रमागत बजेट अन्तरगर्त ६० लाख लागतमा भ्यू टावर निर्माण गरिएको डिभिजन वन कार्यालय दैलेखका डिभिजनल वन अधिकृत मुनबहादुर रावतले बताए ।उनका अनुसार गुराँसे क्षेत्रमा पर्यटनलाई जोगाई पर्यटकको संख्यामा वृद्वि गर्न भ्यू टावर निर्माण गर्न लागिएको हो ।

भ्यू टावरसँगै गुराँसको बिरुवा समेत बनाइएको छ । एक मौषममा मात्रै फुल्ने गुराँसलाई बाह्रै महिनासम्म झल्काउने गरी गुराँसको रुख नै बनाइएको डिभिजनल वन अधिकृत रावतले बताए । गुराँसको बिरुवामा बाघ, डाँफे, गिद्व, चरा, सर्प लगाएतका आकृति समेत निर्माण गरिएको छ । 

निर्माण नसकिदै भ्यू टावर अवलोकनका लागि आउने आन्तरिक पर्यटक बढ्न थालेपछि स्थानीय उत्साहित बनेका छन् । गुराँसे क्षेत्रबाट भदौदेखि कार्तिकसम्म पश्चिममा अपी र सैपाल हिमाल, उत्तरमा कान्जिरुवा, सिस्ने हिमाल,उत्तरपूर्वीमा धौलागिरी, अन्नपूर्ण क्षेत्र र दक्षिणमा सुर्खेतसंगै तराईको चारकोसे जंगल, तराईका चौकोर खेतहरु र बाँके ,बर्दिया, कैलालीका फाँटहरु अवलोकन गर्न सकिने स्थानीय कुलबहादुर थापाले बताए ।  भ्यू टावर निर्माण पश्चात सामुदायिक वन र गाउँपालिकालाई हस्तान्तरण गरिनेछ ।

भ्यू टावरको डिपीआर गुराँस गाउँपालिकाले बनाएको थियो । गाउँपालिकाले गत बर्ष देखि गुराँस संरक्षण कार्यक्रम अन्तरगर्त गुराँस भ्यू टावर निर्माण, गुराँस टिप्न प्रतिबन्ध लगायतका काम गरिरहेको गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले बताए । गुराँस तरकारी खेतीका लागि प्रसिद्ध क्षेत्र हो ।

प्रतिक्रिया