अपडेट : कहाँ कति संक्रमित, कतिको मृत्यु

अपडेट : कहाँ कति संक्रमित, कतिको मृत्यु

काठमाडौँ : विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ८ हजार ६ सय ५७ पुगेको छ । विश्व स्वास्थ्य संगठनले बिहीबार दिउँसो सार्वजनिक गरेको विवरण अनुसार अहिलेसम्म २ लाख ७ हजार ८ सय ६० जना भाइरस संक्रमित भएका छन् । विश्वका १ सय ६६ देशमा यो भाइरस फैलिएको छ ।

विश्वका सबै देशले भाइरस संक्रमण हुनबाट जोगिन अनेकौं प्रयास गरे पनि यसबाट मृत्यु हुनेको संख्या भने अझै रोकिएको छैन। चीनमा भने पहिलो दिनमा भाइरसबाट मृत्यु हुनेको संख्या शून्यमा झरेको छ । तर कोरोना अहिले चीन बाहेक अन्य देशमा फैलिरहेको छ ।

हालसम्म चीनमा ३ हजार २ सय ४२ जनाको मृत्यु भएको छ भने ८१ हजार १ सय ७४ मानिसहरु संक्रमित भएका छन् । इटालीमा ३५ हजार ७ सय १३ संक्रमित र २ हजार ९ सय ७६ को मृत्यु भएको पुष्टि भएको छ ।

चीनपछि भाइरस संक्रमित र मृत्यु उच्च रहेको देश इटाली हो । कोरोनाका कारण इटालीमा एकै दिन ४ सय ७५ जनाको मृत्यु भएको छ । बुधबार इटालीको लोम्बार्डीमा मात्रै ३ सय १९ जना र अन्य क्षेत्रमा १५६ जना गरी ४७५ जनाको मृत्यु भएको हो ।

त्यसैगरी इरानमा १७ हजार ३ सय ६१ संक्रमितमध्ये १ हजार १ सय ३५ को मृत्यु भएको छ। कोरोनाबाट संक्रमितको संख्या बेलायतमा २ हजार ६ सय २६ र अमेरिकामा ७ हजार ८७ पुगेको पुष्टि भएको छ । बेलायतमा अहिलेसम्म १ सय ४ जनाको मृत्यु भएको ५ भने अमेरिकामा १ सय ५५ जनाले ज्यान गुमाएका छन्। 

त्यस्तै स्पेन पाचौं भाइरस प्रभावित देश हो । भाइरस संक्रमण नियन्त्रणका लागि स्पेनले त्यँहाका नागरिकहरूलाई अत्यावश्यक सामग्री, औषधि किन्न वा काममा जाँदाबाहेक घरबाहिर निस्किन प्रतिबन्ध लगाएको छ । स्पेनमा कोरोना संक्रमितको संख्या १३ हजार ७ सय १६ छन् भने मृत्यु हुनेको संख्या ५ सय ९८ पुगेको छ ।

विश्व स्वास्थ्य संगठनले जारी गरेको तथ्यांकअनुसार दक्षिण कोरियामा ८ हजार ४ सय १३, जर्मनीमा ८ हजार १ सय ९८, फ्रान्समा ७ हजार ६ सय ५२, स्वीजरल्याण्डमा ३ हजार ३, नेदरल्याण्डमा २ हजार ५१, बेल्जियममा १ हजार ४ सय ८६, डेनर्माकमा १ हजार ४४, जापानमा ८ सय ७३, स्वीडेनमा १ हजार २ सय ७९, नर्वेमा १ हजार ४ सय २३, कतारमा ४ सय ४२, मलेसियामा ६ सय ७३, अस्ट्रेलियामा ५ सय १० कोरोना भाइरस संक्रमित छन् । यसवाहेक रुसमा समेत एकजनाको मृत्यु भएको छ । यस्तै चीनमा पहिलो पटक कुनै पनि नयाँ संक्रमणको घटना देखा नपरेको चिनियाँ अधिकारीहरुले बताएका छन् ।

एजेन्सीहरुको सहयोगमा

प्रतिक्रिया