कोरोना भाइरस रोक्न उच्च सर्तकता, दैलेखका तीन स्थानमा हेल्थ डेक्स

कोरोना भाइरस रोक्न उच्च सर्तकता, दैलेखका तीन स्थानमा हेल्थ डेक्स

दैलेख : कर्णाली प्रदेशको राजधानीसँगै सिमाना जोडिएको दैलेख जिल्लामा कोरोना भाइरस फैलिन नदिन उच्च सतर्कता अपनाइएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) फैलिन नदिन जिल्ला प्रशासन कार्यालय, स्वास्थ्य सेवा कार्यालय, सबै स्थानीय तहहरुले सर्तकता अपनाएका छन् । जिल्लाको दुई वटा नाकामा हेल्थ डेक्स स्थापना गरिएको छ । राजधानी वीरेन्द्रनगर सुर्खेतबाट दैलेख भित्रिने सर्वसाधरण नागरिकहरुलाई गुराँसेमा स्वास्थ्यकर्मीहरुले स्वास्थ्य चेकजाँच गरिरहेका छन् । गुराँस गाउँपालिकाको अगुवाईमा हेल्थ डेक्स स्थापना गरिएको हो । गाउँपालिकाका अध्यक्ष खेमराज ओलीका अनुसार बिहान ७ बजे देखि साँझ ७ बजेसम्म चार जना स्वास्थ्यकर्मीको टोलीले यात्रुहरुको स्वास्थ्य चेकजाँच गरिरहेका छन् ।

यस्तै र कर्णाली प्रदेशका कालिकोट, जुम्ला, मुगु तथा सुदुरपश्चिम प्रदेशको अछाम हुँदै दैलेख भित्रिने सर्वसाधरणलाई लक्षित गर्दै कर्णाली राजमार्ग अन्तरगर्त पर्ने राकमकर्णाली बजारमा हेल्थ डेक्स स्थापना गरिएको दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले जानकारी दिए ।
‘दुुई साता अघि देखिनै स्थानीय तहका स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीहरुले रोकोना भाइरस सम्बन्धि जनचेतनामुलक र रोकथामका बारेमा प्रचार–प्रसार र जनचेतनामुलक कार्यक्रम गरिरहेका छन्,’ प्रमख जिल्ला अधिकारी कटेलले भने ‘जिल्लाका सबै सरकारी तथा गैरसरकारी कार्यालयहरुमा सेवा लिन आउने सेवाग्राहीहरुलाई लक्षित गरेर कार्यालय अगाडी साबुन पानीले हातधुने व्यवस्था मिलाईएको छ ।’ जिल्ला प्रहरी कार्यालय, जिल्ला समन्वय समिति लगाएत सबै सरकारी कार्यालयहरुमा यस्तो व्यवस्था मिलाइएको हो ।

दैलेख जिल्ला कारागारमा रहेका कैदीबन्दीहरुसंग आफन्तहरुले गर्ने भेटभाट समेत अर्को सूचना जारी नभएसम्म बन्द गरिएको उनले बताए । जिल्लामा अत्यावश्यक खाद्यान्नहरु चामल, दाल, नुन, तेल तथा पेट्रोल डिजेल, ग्यास, औषधी र अन्य कुनै वस्तु अभाव छ या छैन भन्ने बारे यकिन विवरण संकलन गर्न उद्योग बाणिज्य संघलाई पत्राचार गरिएको प्रमुख जिल्ला अधिकारी कटेलले बताए । प्रशासनले यहाँका स्थानीय तह, सरकारी तथा गैरसरकारी निकायहरुलाई सभा, समारोह, गोष्ठि, तथा सर्वसाधरणहरुलाई भिडभाड नगर्न सूचना जारी गरेको छ ।
यस्तै स्वास्थ्य सेवा कार्यालयमा नौ शैयाको आइसोलेसन कक्ष स्थापना गरी आवश्यक औषधी र जनशक्ति प्रबन्ध गरिएको डा. निरन्जन पन्तले बताए । अग्रीम तयारीका लागि नौ शैयाको आइसोलेसन कक्ष स्थापना गरिएको भएपनि आवश्यकताको आधारमा शैया थप्ने तयारी भईरहेको पन्तले जानकारी दिए । स्वास्थ्य सेवा कार्यालयमा अत्यावश्यक औषधीहरु प्रबन्ध गरिएको डा.पन्तले बताए ।
यस्तै शुक्रवार देखि नौमूले गाउँपालिका भित्रिने सर्वसाधरणहरुको स्वास्थ्य चेकजाँचका लागि गाउँपालिकाले हेल्थ डेक्स सञ्चालनमा ल्याएको गाउँपालिकाका प्रमुख प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद कोइरालाले बताए ।

प्रतिक्रिया