कोरोना प्रभाव : महामारीको मौका छोेपेर क्षमता बढि यात्रु

कोरोना प्रभाव : महामारीको मौका   छोेपेर क्षमता बढि यात्रु

हिक्मतबहादुर नेपाली
दैलेख :
विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसका कारण नेपाल सरकारले शिक्षण संस्थामा पठनपाठन बन्द गरेपछि सुर्खेत, नेपालगंज तथा काठमाडौंबाट अधिकांश विद्यार्थी र अभिभावकहरु जिल्ला भित्रिने क्रम बढेको छ । कोरोना भाइरसको प्रभावका कारण शहर छोडेर गाउँ फर्कनेको संख्या ह्वात्तै बढेको छ । आवागमनबाट फैलन सक्ने संक्रमण रोक्न अन्तराष्ट्रिय लगायतका उडान र लामो दूरीका सडक यातायात सेवा पनि केही दिन बन्द गरिनेछ । सरकारको घोषणालगत्तै काठमाडौं लगायत सहरी क्षेत्र छाडेर गाउँ फर्कनेहरूको संख्या ह्वात्तै बढेको छ ।
यात्रुको चाप बढेसँगै सिट क्षमता भन्दा बढि यात्रु बोक्ने, गाडी भाडामा ठगी गर्ने जस्ता गतिविधी रोक्न दैलेख सुर्खेत सडक खण्डमा सञ्चालन हुने सवारी साधनको चेकजाँच गरिएको छ । दैलेखका सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्रीको नेतृत्वमा प्रहरी निरिक्षक उपेन्द्रप्रसाद आचार्य सहित पत्रकारको टोलीले दैलेख सुर्खेत सडक खण्डमा सवारी चेकजाँच गरेको छ । शनिवार दैलेख सुर्खेत सडक खण्डमा सञ्चालन हुने झण्डै दुई सय बढि सवारी साधन चेकजाँच गरिएको हो ।
चेकजाँचका क्रममा दैलेख सुर्खेत सडक खण्डमा सञ्चालन हुने माइक्रो बस (हाइस), बस, जीपले कारोना भाइरसको महामारीको मौका छोपेर क्षमता भन्दा बढि यात्रु बोकेको पाईएको सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्रीले बताए । उनका अनुसार क्षमता भन्दा बढि यात्रु बोक्ने सवारी साधनलाई कारवाही गरिएको छ । ‘धेरै जसो सवारीले मुडा राखेर क्षमता भन्दा बढी यात्रु बोकेको पायौ,’ सहायक प्रमुख जिल्ला अधिकारी क्षेत्रीले भने । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) र बिलबुक नभएकोहरुलाई समेत कारवाही गरिएको छ ।
सरकारी सवारी आफन्त ओसार्न प्रयोग
अनुगमनका क्रममा दैलेखमा सरकारी सवारी साधनको दुरुपयोग बढेको पाईएको छ । स्थानीय तह र सरकारी निकायका सवारी साधन दुरुपयोग गरेको पाईएको हो । सरकारी कर्मचारी तथा जनप्रतिनिधिले स्वीकृतिबिनै सवारी साधन प्रयोग गर्ने गरेको पाईएको हो । जनप्रतिनिधि र कर्मचारीहरूले छोरा–छोरी तथा आफन्तलाई सवारी साधन उपयोग गर्न दिइएको पाइएको छ । त्यस्तै कर्मचारीहरूले पनि निजी कामका लागि सरकारी सवारी साधन दुरुपयोग गरिरहेको सहायक प्रमुख जिल्ला अधिकारी क्षेत्रीले बताए । जिल्लाका स्थानीय तह र सरकारी कार्यालयका सवारी शनिवारको दिन पनि बिना स्वीकृत जनप्रतिनीधि र कर्मचारीहरुले आफन्त ओसार्न प्रयोग गरेको भेटिएको उनले बताए । यस्तै दुल्लु अस्पतालको एम्बुलेन्सले समेत कर्मचारीका छोरा छोरी र आफन्त बोकेको पाईएको सहायक प्रमुख जिल्ला अधिकारी क्षेत्रीले बताए ।
ट्राफिक प्रहरीको लापरबाही
शनिवार गरिएको सवारी चेकजाँचका क्रममा दैलेख सुर्खेत सडक खण्डमा सञ्चालन हुने सवारी साधन चेकजाँचमा ट्राफिक प्रहरीले चरम लापरबार्ही गरेको पाईएको छ । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) र बिलबुक नभएका, सिट क्षमता भन्दा बढि यात्रु बोक्न सवारी साधनहरुलाई चेकजाँच गर्न लापरबाही गरेको पाईएको हो । तल्लो डुङ्गेश्वरको ट्राफिक प्रहरीहरुले सवारी चालकहरुबाट रकम असुल्ने गरेको पाईएको छ । चेकजाँचमा परेका सवारी चालकहरुले नै ट्राफिक प्रहरीलाई रकम बुझाएको बताएका थिए । तल्लो डुङ्गेश्वरमा कार्यरत ट्राफिक प्रहरीलाई चेकजाँच भईरहेको स्थानमा आउनका लागि जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरिक्षक उपेन्द्रप्रसाद आचार्यले खबर गर्दा प्रदेश ट्राफिक प्रहरीको मातहतमा रहेको भन्दै उनिहरु आउन मानेनन् ।
खुला रुपमा पेट्रोलियम पदार्थ बिक्री वितरण
टोलीले डुङ्गेश्वर गाउँपालिका–१ चुप्रा बजारमा अनुगमन समेत गरेको छ । अनुगमनका क्रममा चुप्राको दुई वटा पसलमा खुला रुपमा पेट्रोलियम पदार्थ बिक्री वितरण गर्ने गरेको पाईएको छ । अनुगमनका क्रममा खुला रुपमा बोत्तल र जरकिनमा राखेर पेट्रोलियम पदार्थ बिक्री वितरण गर्ने गरेको पाईएको हो । खुला रुपमा वितरण गर्न राखिएको डिजेल र पेट्रोल अनुगमन टोलीले नियन्त्रणमा लिएको छ । चुप्राको दुई वटा पसलबाट झण्डै एक सय लिटर डिजेल र पेट्रोल नियन्त्रणमा लिइएको हो । साथै म्याद नाघेका पेय पदार्थ समेत नियन्त्रणमा लिईएको बताईएको छ ।

प्रतिक्रिया