प्रधानमन्त्री र मुख्यमन्त्रीलाई ज्ञापनपत्र

प्रधानमन्त्री र मुख्यमन्त्रीलाई ज्ञापनपत्र

दैलेख : उद्योग बाणिज्य संघ दैलेखले प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय र कर्णाली प्रदेशका मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयलाई ज्ञापन पत्र बुझाएको छ । संघले दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कटेल मार्फत प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय र कर्णाली प्रदेशका मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयलाई ज्ञापन पत्र बुझाएको हो । संघले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणको उचित व्यवस्थापनका लागि तीनै तहका सरकारसँग विभिन्न माग गर्दै ज्ञापन पत्र बुझाएको हो ।
ज्ञापन पत्रमा मार्फत अत्यावश्यक औषधी, खाद्यान्न, पेट्रोलियम पदार्थको बिक्री वितरण र ढुवानी पारदर्शी र सहज ढंगबाट गराउनुपर्ने, संक्रमणको जोखिमलाई न्यूनिकरण गर्न जनचेतनामुलक कार्यक्रमहरु तथा अत्यावश्यक उपकरणहरु औषधी, सरसफाई सामग्री, मास्क तथा सेनिटाइजर जस्ता बस्तुको वितरण अति आवश्यक भएकाले सबै ठाउँमा सूचना र बस्तु पुग्ने गरि व्यवस्था मिलाउन माग गरिएको छ ।
यस्तै अन्तराष्ट्रिय अर्थतन्त्रलाई कोरोना संक्रमणका कारण गम्भिर धक्का पुगेको वर्तमान अवस्थामा हाम्रो अर्थतन्त्रलाई समेत गम्भिर असर पार्न थालेको हुनाले दैलेखी उद्योगी व्यवसायीहरुले बैंकहरुबाट लिएको ऋणको साँवा, ब्याज र सरकारलाई २०७६ चैत्र मसान्तसम्म तिर्नुपर्ने करको समयावधी थप र व्याज मिनाहा गर्न माग गरिएको छ ।
ज्ञापन पत्र बुझाउँदै संघका अध्यक्ष कुलबहादुर बिकले कोरोना भाइरसको संक्रमणका कारण विश्वव्यापी रुपमा सृजना भएको मानवीय, सामाजिक र आर्थीक संकटमा सम्पूर्ण नीजि क्षेत्र तथा आम नागरिकहरुलाई सहयोग पुग्ने गतिविधि सञ्चालन गर्न सरकारसँग आग्रह गरिएको बताए । उनले जिल्लामा वर्तमान अवस्थामा अत्यावश्यक खाद्यान्न, पेट्रोलियम पदार्थ, खाना पकाउने ग्याँसको अभाव नरहेको र हुन नदिने प्रतिबद्वता जनाए ।

प्रतिक्रिया