कोभिड–१९ जोखिम: नारायण क्याम्पसमा बन्दै क्‍वारेन्टाइन

कोभिड–१९ जोखिम: नारायण क्याम्पसमा बन्दै क्‍वारेन्टाइन

क्वारेन्टाइन निर्माण हुने नारायण क्याम्पस ।

दैलेख : जिल्ला सदरमुकाम स्थित नारायण क्याम्पसको भवनमा क्वारेन्टाइन बनाइने भएको छ । जिल्ला प्रशासन कार्यालय, नारायण नगरपालिका, जिल्ला प्रहरी कार्यालयको पहलमा नेपाली सेनाले काम थालेको छ । सय बेडको लक्ष सहित तत्काल ४० बेडको क्वारेन्टाइन बनाउने पक्रिया थालिएको हो । प्रमुख जिल्ला अधिकारी युवराज कटेलको अध्यक्षतामा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले कारोनाको जोखिम रहेको निश्कर्ष निकाल्दै एक सय बेडको क्वारेन्टाइन निर्माण गर्ने निणर्य गरेको हो ।
नारायण क्याम्पसको भवनमा क्वारेन्टाइन बनाउनका लागि उपयुक्त रहेकोले सोहि भवनमा क्वारेन्टाइन निर्माणको प्रक्रिया थालिएको इन्द्रदल गुल्म दैलेखका गुल्मपति गणेशराज पन्तले बताए । नारायण नगरपालिकाका प्रमुख रत्नबहादुर खड्का सहितको सुरक्षा निकायका प्रमुखहरुको टोलीले क्याम्पसको भवनमा क्वारेन्टाइन बनाउने गरी अनुगमन गरिसकेको छ । सोमवार देखि नै क्वारेन्टाइन निर्माणको काम थालिने गुल्मपति पन्तले जनाए । बिरामीका लागि सुरक्षित बेड, पानी र शौचालयको व्यवस्थापन गरिने उनले बताए । जिल्ला प्रहरी कार्यालय दैलेखले भने टेन्ट व्यवस्थापन गरी १६ बेडको क्वारेन्टाइन निर्माण गरिसकेको छ ।
त्यस्तै स्वास्थ्य सेवा कार्यालय दैलेख अन्तरगर्त जिल्ला अस्पतालमा ११ बेड क्षमताको आइशोलेशन कक्ष स्थापना गरिएको छ । कोरोनाको संक्रमितलाई उपचारका लागि पूर्व तयारी स्वरुप छुट्टै आइशोलेशन कक्ष स्थापना गरिएको अस्पतालका प्रमुख डा. निरन्जन पन्तले बताए । विश्वभर कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढिरहेका बेला अस्पतालमा संक्रमितहरुलाई आइशोलेशनमा राखेर उपचार गर्ने व्यवस्थापन गरिएको डा. पन्तले बताए । कारोनाको लक्षण देखिएका बिरामीलाई दैलेख अस्पतालको आइशोलेशन वा नारायण क्याम्पसको क्वारेन्टाइन बेडमा राखेर उपचार थालिने र बिरामीको नमुना संकलन गरि प्रयोगशालामा पठाउने व्यवस्था मिलाइएको उनले बताए ।
यसैगरि दैलेख भित्रिने प्रमुख नाकाहरु सुर्खेतको सिमाना गुराँसे र राकमकर्णालीमा हेल्थ डेक्स स्थापना गरि स्वास्थ्यकर्मीको टोली खटाईएको प्रमुख जिल्ला अधिकारी युवराज कटेलले बताए । ‘कोरोनाको संक्रमण फैलिन नदिन हामी निकै सचेत छौ,’ कटेलले भने ‘खाद्यान्न अभाव, कालोबजारी रोक्न अनुगमनलाई तिब्र पारेका छौ ।’ कोरोनाको संक्रमण फैलिन नदिन स्थानीय तहहरु सजग भएको उनले बताए । स्थानीय तहले सचेतनामुलक घरदैलो कार्यक्रमहरु सञ्चालन गरिरहेको उनले बताए ।

प्रतिक्रिया