भैरबी गाउँपालिकाले भारतबाट फर्कनेलाई १४ दिन क्वारेन्टाइनमा राख्ने

भैरबी गाउँपालिकाले भारतबाट फर्कनेलाई १४ दिन क्वारेन्टाइनमा राख्ने

ज्वाला सन्देश समाचारदाता
दैलेख :
रोजगारीका लागि भारत गएकाहरु धमाधम घर फर्किन थालेपछि दैलेखमा कोरोना भाइरसको जोखिम बढेको छ । जिल्लाको भैरबी गाउँपालिकाले आफ्नो गाउँपालिका पनि कोरोना भाइरसको जोखिममा भएका कारण भारतबाट फर्कनेहरुलाई १४ दिन क्वारेन्टाइनमा राख्ने बताएको छ । गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर बुढाको अध्यक्षतामा बसेको विपद् व्यवस्थापन समितिको बैठकले यो निणर्य गरेको हो । भारतबाट आउनेलाई १४ दिनसम्म क्वारेन्टाइनमा राखिने र स्वास्थ्य जाँच पछि मात्रै घर जान दिइने गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हीरासिंह थापाले बताए । उनका अनुसार भारत तथा तेस्रो मुलुकबाट गाउँपालिकामा आउने स्थानीय नागरिक तथा विदेशी नागरिकहरुलाई स्वास्थ्य चेकजाँचका लागि राख्न पञ्चदेवल मावी रावतकोट र गौरी मावी बाँलेकाडामा क्वारेन्टाइन निर्माण गर्ने तयारी गरिएको छ ।
त्यर्सैगरि गाउँपालिकाले विश्वव्यापी रुपमा माहामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमण भित्रिन नदिन भारत लगाएत तेस्रो मुलुकबाट गाउँपालिका भित्रिने नागरिकहरुको स्वास्थ्य चेकजाँचका लागि भैरबी गाउँपालिका अन्तरगर्त भिरखेत र चगत्रा बजारमा हेल्थ डेक्स सञ्चालन गर्ने भएको छ । भारत लगाएत तेस्रो मुलुकबाट गाउँपालिकामा आउनेहरुको नाम, ठेगाना, आएको स्थान लगाएतको विवरण वडा सचिव मार्फत संकलन गर्ने गाउँपालिकाले जनाएको छ ।
यस्तै संक्रमणबाट बच्न व्यक्तिगत सरसफाई, आहार विहार तथा व्यायमका विषयमा चेतनामुलक कार्यक्रम सञ्चालन गर्ने निणर्य गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत थापाले बताए । गाउँपालिकाले गाउँपालिका भित्र सामाजिक परम्परा अनुसार गरिने विवाह, ब्रतबन्ध, पास्ती जन्मोत्सब जस्ता कार्यहरु गरि भेला तथा जमघट गर्न बन्देज लगाएको छ ।

प्रतिक्रिया