साबुनपानीले हात धोएर मात्रै कार्यालय प्रवेश, ५० हजारको विपद् कोष

साबुनपानीले हात धोएर मात्रै कार्यालय प्रवेश, ५० हजारको विपद् कोष

ज्वाला सन्देश समाचारदाता
दैलेख
: दैलेखको सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको कार्यालयमा सेवाग्राही र कर्मचारीहरुलाई कार्यालय भित्र प्रवेश गर्दा हात धोएर मात्र प्रवेश गराउने व्यवस्था गरिएको छ । कार्यालय अगाडि राखिएको साबुन र पानीले हात धोएर मात्र सेवाग्राहीहरु कार्यालय प्रवेश गर्न पाउँछन् ।
सोसेकको केन्द्रिय कार्यालय र बाल हेल्पलाइन १०९८ तथा महिला र बालबालिका केन्द्रमा साबुनपानीले हात धोएर मात्रै कार्यालय प्रवेश गर्ने व्यवस्था मिलाएको सोसेकका उप–कार्यकारी निर्देशक बसन्त श्रेष्ठले बताए । कोरोना भाइरसको संक्रमणबाट बच्न र जनतामा सचेतना ल्याउन कार्यालयमा हातधुने तरिका सहित हात धुने व्यवस्था मिलाएको श्रेष्ठले बताए । कर्मचारी समेत साबुनपानीले हात धोएर मात्र आफ्नो काममा खटिने गरेको उनले बताए । यस्तो व्यवस्था सोसेकको फिल्ड कार्यालयहरुमा समेत गरिएको हो । संस्थाले आपत्तकालिन कोषमा ५० हजार रुपैयाँ व्यवस्थापन गरेको उपकार्यकारी निर्देशक श्रेष्ठले ज्वाला सन्देशलाई जानकारी दिए ।

‘कोरोना भाइरसबाट जोगिने उपाएहरु लेखिएको प्रचार–प्रसार सामग्रीहरु स्थानीय तहका गाउँ गाउँमा पठाएका छौ,’ उप–कार्यकारी निर्देशक श्रेष्ठले भने ‘नौमूले गाउँपालिका, भगवतीमाई गाउँपालिका लगाएतका स्थानीय तहमा खटिएका कर्मचारीहरुले स्थानीयको घर–घरमा पुगेर हातधुने तरिकाहरु सिकाईरहेका छन् ।’ केन्दिय कार्यालय र फिल्ड कार्यालयहरुमा प्राथमिक स्वास्थ्य उपचारका लागि औषधी सहित व्यवस्थापन गरिएको श्रेष्ठले जनाए ।

प्रतिक्रिया