दैलेखका स्थानीय तहमा स्वास्थ्य सामग्री पठाउन आग्रह

दैलेखका स्थानीय तहमा स्वास्थ्य सामग्री पठाउन आग्रह

दैलेख : प्रतिनिधिसभाका साँसद पार्वती बिशुन्केले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल र राज्यमन्त्री नवराज रावतलाई भेटी कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाममा दैलेखका स्थानीय तहमा स्वास्थ्य सामग्री पठाउन आग्रह गरेकी छिन् ।
दैलेखका ११ वटै स्थानीय तहका ९० वडामा कोरोना भाइरस रोकथामका लागि टोपी, जुत्ता तथा फेससिल भएको ४ सय पीपीइसेट, आईआर थर्ममीटर ८० वटा, मास्क ७ हजार र स्वास्थ्यकर्मीले प्रयोग गर्ने १८ सय ग्लोव पठाउन लिखित पत्र बुझाएको साँसद बिशुन्केले जानकारी दिइन् ।
त्यसबखत साँसद बिशुन्केले कोरोना महामारी फैलिएको अवस्थामा कर्णाली प्रदेशको कमजोर चेतनास्तर, दक्ष स्वास्थ्यकर्मी अभाव र भौगोलिक विकटताको कारण नियन्त्रण गर्न कठिन पर्ने भएको औल्याउदै सरकारले जगगता अपनाउनुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री ढकाल र राज्यमन्त्री रावतको ध्यानाकर्षण गरेकी थिइन् ।
मन्त्रीद्वयसंगको भेटमा साँसद बिशुन्केले जिल्ला समन्वय समिति, प्रमुख जिल्ला अधिकारी लगायत सुरक्षा निकायले विपद् व्यवस्थापन पूर्वतयारी, स्थानीय सरकारहरु तथा सरोकारवाला निकायको कोरोना भाइरसको संक्रमण हुन नदिन गरेको पूर्व तयारीका काम बारे जानकारी गराएकी थिइन् ।
भेटघाटको क्रममा मन्त्री ढकाल र राज्यमन्त्री रावतले कोरोना भाइरस संक्रमण भइहाले उपचार र नियन्त्रण व्यवस्थापनका लागि कर्णाली लगायतका विकट क्षेत्रमा स्वास्थ्य सेवा प्रभावकारी बनाउने रणनीति लिएको प्रष्ट्याएका थिए ।
जिल्लामा अतिआवश्यक विकास संरचना निर्माण निम्ति पहल गर्ने, सार्वजनिक सरोकारका विषयमा ध्यान दिंदै आएकी साँसद विशुन्केले कोरोना भाइरसको संभावित जोखिममा सावधाना अपनाउन आम नागरिकलाई सचेतना, रोकथामका लागि पहल गरेको भन्दै स्थानीयले धन्यवाद दिएका छन् ।

प्रतिक्रिया