यात्रुको उद्दारका लागि ‘हटलाइन सेवा’

यात्रुको उद्दारका लागि ‘हटलाइन सेवा’

सुर्खेत – कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि देश लकडाउन भएसंगै बाटोमा अलपत्र परेका यात्रुको उद्दारका लागि कर्णाली प्रदेश सरकारले निःशुल्क हटलाइन सेवा शुरु गरेको छ। मंगलबार बसेको कर्णाली प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकले अलपत्र यात्रुहरुको उद्दारका लागि हटलाइन सेवा सुरु गर्ने निर्णय गरेको हो।

कार्यकारी समितिका संयोजक एवम् सामाजिक विकास मन्त्री दल रावलले आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा हटलाइन कक्षसहित १११० नम्वरको हटलाईन सेवा शुरु गर्ने निर्णय गरिएको जानकारी दिए। ‘गन्तब्यमा नपुग्दै बाटोमै अलपत्र परेका कर्णाली प्रदेशभित्रका नागरिकहरुका लागि यो सेवा सुरु गरेका हौं,’ मन्त्री रावलले भने, ‘हटलाइनमा प्राप्त सुचनाका आधारमा उद्दारको प्रक्रिया थाल्छौं।’

उनले अलपत्र परेका यात्रुहरुको उद्दार गर्ने, उनीहरुको प्रारम्भीक स्वास्थ्य परीक्षण गर्ने तथा स्वास्थ्य अवस्थाका आधारमा क्वारेन्टाईनमा राख्नुपर्नेलाई क्वारेन्टाईनमा राख्ने र बाँकीलाई गन्तव्यसम्म पु-याउने व्यवस्था मिलाइने बताए। लकडाउनका कारण रोजगारीका लागि भारत गएका कर्णाली प्रदेशका अधिकांस नागरिक अहिले बीचबाटामै अलपत्र छन्।

प्रतिक्रिया