नौमूले : सुरक्षित सेल्फ क्वारेण्टाइन

नौमूले : सुरक्षित सेल्फ क्वारेण्टाइन

चैत १३, २०७६ – दैलेख – कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ कटानकी सुनिता नेपाली, एक छोरी र श्रीमान् चन्द्र नेपाली सहित नौमूलेमा अहिले सेल्फ–क्वारेण्टनाइनमा हुनुहुन्छ । एफ–स्कीलले सञ्चालन गरेको ३ महिने सिलाई कटाई तालिमको प्रशिक्षक दम्पति सरकारको निर्णय अनुसार चैत ६ गते तालिम रोकिएपछि आफ्नो घर जानसक्नु हुन्थ्यो तर जानुभएन ।

सुनिता दम्पतिले कञ्चनपुर गए ६ किलोमीटर दूरीको भारतीय नाका गड्डाचौकीबाट हुने आवागमन र भीडभाड ले कोरोना भाइरस संक्रमण हुने डरले त्यो भन्दा यहाँ सुरक्षित ठानेर नौमूलेमा रोकिनुभएको हो ।

सामाजिक सेवा केन्द्र (सोसेक)को ग्रामीण जलश्रोत व्यवस्थापन कार्यक्रममा ग्रामीण स्वास्थ्य प्रवद्र्धक देवी सापकोटाले दुल्लू नगरपालिका–१२ गौरीका आफ्ना श्रीमान् लक्ष्मी लम्साललाई नौमूलेमै बोलाउनुभयो । पहिलो यात्रा भए पनि ‘लकडाउन’ले लक्ष्मीले घुम्न पाउनुभएको छैन ।
बुटवल घर भएका व्यापारी समसुद्धिन मियाले पनि श्रीमति र ४ छोराछोरी नौमूले बोलाउनुभयो, चैत ७ गते परिवारजन सबै जमघट हुन पाएको लगतै सरकारले ११ गतेदेखि लकडाउन गरेपछि नौमूले बसाई चिन्ता मुक्त भएको भएको छ ।

पर्यावरणीय अनुकुलताले कोरोना भाइरल (कोभिड १९)को महामारी फैलिने त्रास भइरहेको बेला शान्त र सुविधायुक्त भएको कारण यी तीन परिवार जस्तै सुरक्षित ठानेर नौमूलेमा रोकिएकाहरुको फेहरिस्त लामै छ । बाहिरलाई चासो नहोला तर नौमूलेसंग सामान्य सम्वन्ध जोडिएकाहरुका लागि यो मुख्य छनौटमा परेको छ ।

‘लकडाउन’को परिपालना गर्ने स्थानीयको इमान्दारिता, नौमूले गाउँपालिको विपद् व्यवस्थापन तयारी, वातावरणीय अनुकुलता र ग्रामीण क्षेत्रमा पनि भौतिक सुविधाको प्रयाप्तताले नौमूले सुरक्षित स्थान महसुस ठानेर आफूहरु रोकिएको सुनिता नेपालीले सुनाउनुभयो ।

नौमूले प्रवेश गर्ने एक मात्र तामेखोलामा नौमूले गाउँपालिकाले स्वास्थ्य सहायता कक्ष राखी प्रवेश गर्ने हरेकको स्वास्थ्य जाँच गर्ने, शंका लागे क्वारेण्टाइनमा पठाउने योजना छ । कोही भोको बस्न नपरोस् भनेर ६ सय क्वीण्टल चामलको प्रवन्ध गरिएको छ ।

स्वास्थ्य उपकरण, औषधि र कोरोना भाइरस रोकथाममा खटिएका कर्मचारी र सुरक्षाकर्मीको सुविधाका लागि गाउँपालिकाले विपद् व्यवस्थापन कार्यका लागि २० लाख रुपैंयाँ छुट्टयाएको नौमूले गाउँपालिकाका अध्यक्ष भदे बुढा मगरले बताउनुभयो ।

गाउँपालिकाको उत्तरदायित्वले मनोवल बढाएको नौमूले गाउँपालिका–३ द्वारीकी ६२ वर्षीया अमृता घर्तीमगरले सुनाउनुभयो । उहाँले भन्नुभयो – ‘सरकारले घरभित्रै बस्नुस् भनेकोले हाम्रै लागि हो भनेर भित्रै बसेका छौं । संस्थाले मास्क लगाऊ भने हामीले मास्क लगाउने गरेका छौं ।’

भारत र विदेशबाट आएकाहरुको नियमित स्वास्थ्य परीक्षण गर्ने, एक्लै सुरक्षित बस्न लगाउने नौमूले गाउँपालिकाको निर्देशनलाई स्थानीयले पालना गरेका छन् । नौमूले गाउँपालिका–१ नौमूले बजारका ३१ वर्षीय बलबहादुर बिकले भन्नुभयो ‘चैत ५ गते घरमा पुगें, स्वस्थ छु तर सावधानी निर्देशन पालना गरेकै छु ।’

नौमूले पुरानो छाप र अहिले

सशस्त्र युद्धताका २०५७ चैत २४ गते नौमूले इलाका प्रहरी माथि तत्कालिन सशस्त्र माओवादीको आक्रमणबाट ३२ जना प्रहरी मारिएको भयानक घटनाले चर्चित नौमूले अहिले शान्त र विकासको पथमा लम्कँदै गरेको छ ।

जिल्लाको पूर्वउत्तर किनारामा रहेको जाजरकोट कालिकोट र जाजरकोटसंग सिमाना जोडिएको विकट गाउँ तर शान्ति प्रक्रियापछि सडक पहुँच पुगेपछि तीन वटा साना जलविद्युत आयोजनाले ७ मेगावाटको बिजुली उत्पादन गर्न थालेपछि विकासमा लम्कन थालेको हो ।

४.५ मेगावाटको पदमखोला विद्युत आायोजना र ३.७५ मेगावाटको द्वारीखोला जलविद्युत आयोजना र जलविद्युत आयोजना शान्ति प्रक्रियापछि निर्माण हुन लागेपछि यहाँको आवश्यकता बन्यो सडक पूर्वाधार ।

जलविद्युत आयोजनाहरुले आफूले पनि केही भरथेक मद्दत गरे अनि शान्ति प्रवद्र्धनका लागि सरकारको श्रोत परिचालन हुँदा पनि दैलेखमा सबै भन्दा बढी प्राथमिकता पनि नौमूलेले पायो अनि सडक पूर्वाधार सुरुवात भएपछि विकासका अरु आयामहरु पनि थपिंदै गए ।

२०७४ मा स्थानीय तहका निर्वाचन सम्पन्न भएपछि नौमूले गाउँपालिकाको बजेट श्रोतपनि थपियो र उसले पनि सडक सञ्जाललाई राम्रो गराउने प्रयत्न गराएको कारण सदरमुकाम नारायण नगरपालिकाको सडक खण्ड खराब होला तर गाउँपालिकाको क्षेत्र सडक फराकिलो बन्यो ।
फराकिलो सडक, प्राकृतिक हिसावले जहाँतहीँ पानीका मुहान, विद्युत, सञ्चार लगातयको भौतिक सुविधाको सहज पहुँच भएकोले ‘लकडाउन’को बेला अस्थायी बास बसाई मात्र होइन, आन्तरिक पर्यटनका लागि त्यहाँ पुग्नेहरुको मन लोभ्याउने गरेको छ ।

साविकको ७ गाविसहरुको केन्द्र भूबनौटको हिसाव पनि उत्तम भएकोले नौमूले गाउँपालिकाको मुकाम पनि यही नौमूले बजार बनेको छ । साविसको गाविसहरु तोली, बालुवाटार, द्वारी, कालिका, नौमूले र चौराठा एक–एक वडा र सल्लेरी गाविस चाहिं २ वटा वडा गरी नौमूले गाउँपालिका ८ वटा वडामा विभाजित छ ।

प्रतिक्रिया