अस्पतालमा सुरक्षा उपकरण अभाव : प्लास्टिकबाट पीपीई

अस्पतालमा सुरक्षा उपकरण अभाव : प्लास्टिकबाट पीपीई

दैलेख : जिल्ला अस्पताल दैलेखमा व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) अभाव भएको छ । बिरामीलाई उपचारका क्रममा सुरक्षित रहन स्वास्थ्यकर्मीले प्रयोग गर्ने व्यक्तिगत सुरक्षा उपकरण अभाव भएको हो । उपकरण अभाव भएपछि स्वास्थ्यकर्मीले बजारमा पाइने पलाष्टिकबाट पीपीई निर्माण गरेका छन् । स्वास्थ्य सेवा विभागले समयमै उपलब्ध नगराएपछि पलाष्टिकबाटै निर्माण गरेर प्रयोगमा ल्याएको दैलेख अस्पताले जनाएको छ । 

तत्काललाई २० वटा व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) पलास्ष्टिबाटै निर्माण गरेर प्रयोगमा ल्याएको अस्पतालका प्रमुख डा. निरन्जन पन्तले जानकारी दिए । यसका लागि आवश्यक पर्ने बुट, गाउन, क्याप लगाएतका सामग्री बनाइएको उनले बताए । ‘बजारमा उपलब्ध पलाष्टिबाट व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) निर्माण गरेका छौ,’ डा.पन्तले भने, ‘हामीलाई तत्कालाई चाहिने सेट निर्माण गरेका हौँ, बिरामी बढे आवश्यकता पनि बढ्छ ।’ अस्पतालका अनुसार गाउन हावा र पानी नछिर्ने खालका छन् । आइसोलेसन र क्वारेन्टाइनमा खटिने सबै स्वास्थ्यकर्मीले व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) प्रयोग गर्ने डा. पन्तले बताए ।

संक्रमितको उपचारमा खटिने भएकाले चिकित्सक तथा नर्सह बढी खतरामा पर्ने मानिन्छ । अस्पतालमा कोरोना भाइरस (कोभिड १९) संक्रमितको उपचारका लागि ११ बेडको आइसोलेसन कक्ष स्थापना गरिएको छ । यस्तै अस्पतला नजिकै रहेको सरस्वती माविमा २० बेडको आइसोलेसन कक्ष स्थापना गरिएको छ भने नारायण क्याम्पसमा सय बेडको क्वारेन्टाइन बनाउने लक्षसहित हाललाई ४० बेडको क्वारेन्टाइन स्थापना गरिएको छ । 

प्रतिक्रिया