कोरोना नियन्‍त्रणमा खट्ने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई कर्णालीमा थप सुविधा

कोरोना नियन्‍त्रणमा खट्ने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई कर्णालीमा थप सुविधा

सुर्खेत : कर्णालीमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले थप तलव सुविधा पाउने भएका छन्। कोरोनाको रोकथाममा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई प्रदेश सरकारले थप तलव सुविधा उपलब्ध गराउने भएको हो। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शुक्रबार कर्णालीबासीको नाममा सम्बोधन गर्दै यस्तो घोषणा गरेका हुन्।

आफ्नो सम्बोधनमार्फत मुख्यमन्त्री शाहीले कोरोनाविरुद्धको अभियानमा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई प्रोत्साहन स्वरुप यस्तो सुविधा दिइने बताए। मुख्यमन्त्रीको यो घोषणासँगै अब कर्णालीमा कोरोना रोकथामको क्रममा खटिने चिकित्सक र स्वास्थ्यकर्मीले सुरु तलवको शत प्रतिशत थप तलव सुविधा पाउने छन्। यस्तै सुरक्षाकर्मीले पनि सुरु तलवको ५० प्रतिशत थप तलव सुविधा पाउने भएका हुन्।

सम्बोधनका क्रममा मुख्यमन्त्री शाहीले भने,‘कोरोना रोकथामको कार्यलाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको भूमिका महत्वपूर्ण छ, यो कार्यलाई थप प्रभावकारी बनाउने प्रोत्साहन भत्ता उपलब्ध गराउने घोषणा गर्दछु।’ 

अब कर्णालीमा कोरोनाको रोकथाम, नियन्त्रण र उपचार कार्यमा खटिने स्वास्थ्यकर्मी र चिकित्सकले शतप्रतिशत थप तलव सुविधा पाउने छन्। यस्तै रोकथाम कार्यलाई प्रभावकारी गर्न हेल्थ डेस्क, क्वारेन्टाइन र आइसोलेशनमा खटिने सुरक्षाकर्मीलाई थप तलव सुविधा उपलब्ध गराइने छ। यसले स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको मनोवल बढ्ने प्रदेश सरकारको दाबी छ।

यस्तै मुख्यमन्त्री शाहीले सम्बोधनमार्फत प्रदेश सरकारले स्थापना गरेको विपद् व्यवस्थापन कोषमा सहयोग गर्न जनप्रतिनिधि, कर्मचारी र उद्योगीहरुलाई पनि आग्रह गरे। 

कर्णालीमा कोरोना भित्रिन नदिन सरकार प्रतिबद्ध रहेको भन्दै उनले चिकित्सक, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई धैर्य गर्न आग्रह गरे। यस्तै लकडाउन र संकटको अवस्थामा आवश्यक दैनिक उपभोग्य सामग्री सहज रुपमा उपलब्ध गराउने उनले निजी क्षेत्रलाई आग्रह गरे। सम्बोधनकै क्रममा मुख्यमन्त्री शाहीले लकडाउन अवधिभर घरमै बसेर सुरक्षित रहनसमेत कर्णालीबासीलाई आग्रह गरेका छन्।   

प्रतिक्रिया