नेपालगञ्‍ज विमानस्थलमा विमान चिप्लिएपछि..

नेपालगञ्‍ज विमानस्थलमा विमान चिप्लिएपछि..

काठमाडौं : काठमाडौंबाट नेपालगन्जका लागि उडेको नेपाल एयरलाइन्सको विमान दुर्घटना हुनबाट बचेको छ।नेपालगन्ज विमानस्थलमा अवतरण गर्ने क्रममा शनिबार दिउँसो विमान रनवे नजिकै चिप्लिएर सय मिटर टाढा घाँसे मैदानमा पुगेको नेपाल वायु सेवा निगम प्रवक्ता अर्चना खड्काले जानकारी दिइन्। घटनामा भने मानवीय क्षति भएको छैन। विमानलाई सुरक्षित रुपमा उद्धार गर्ने काम भइरहेको छ।

दुर्घटना हुनबाट जोगिएको बिमानमा को को थिए ?

नेपाल एयरलाइन्सको स्वास्थ्यको सामान ल्याएर आएको कार्गो विमान शनिबार मध्यान्न १२ बजे नेपालगन्ज विमास्थलमा दुर्घटना हुनबाट  बचेको छ ।  
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी शिवबहादुर सिंहका अनुसार काठमाडौंबाट नेपालगन्जका लागि स्वास्थ्यका सामान  र स्वाब लिन आएको विमान रनवेमा चिप्लिएर दक्षिणमा सय मिटर टाढा खेतमा पुगेको हो । 

विमानमा रहेका नेपालगन्जको भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका दुईजना डाक्टर, दुई जना विमान चालक र एकजना एयर होस्टेल सबै सकुशल छन् । विमानमा सामान्य क्षति मात्र पुगेको छ । 

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबावु श्रेष्ठका अनुसार विमानमा खजुरा क्यान्सर अस्पतालको आइसोलेसनको सामान ल्याइएको थियो भने प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न अस्पतालबाट कोरोना आशंकित व्यक्तिको स्वाब विमानबाट काठमाडौं पठाइँदै थियो । 

विमान रनवेबाट चिप्लिएपछि स्वाब लिन अर्को विमान आउन लागेको श्रेष्ठले बताए । उनले भने, ‘डाक्टर साबहरु सबै अहिले त अस्पताल नै पुगिसक्नु भएको छ । हामीले सबै सामान ओसारिसकेका छौं । कसैलाई केही भएको छैन ।’

प्रतिक्रिया