कोरोना संक्रमण रोकथामका लागि योजना बनाउन सांसदको सुझाव

कोरोना संक्रमण रोकथामका लागि योजना बनाउन सांसदको सुझाव

दैलेख चैत्र १६ गते ।
प्रतिनिधिसभाका सांसद पार्वती बिशुन्केले कोरोना भाइरस संक्रमण रोकथामका लागि राज्यका निकायहरुले अझै बढी जिम्मेवार भएर काम गर्न ध्यानाकर्षण गराएकी छिन् । विश्वभर महामारीको रुप लिइसकेको कोरोना रोकथाममा सरोकारवाला सबैसंग समन्वय गर्न उनले आग्रह गरेकी हुन् ।
आइतवार एक अपिल जारी गर्दै संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले संक्रमण रोकथामका लागि गर्नुपर्ने तयारी, सामग्रीको व्यवस्थापन र संक्रमण देखिएको अवस्थामा उपचारको तत्परताको निम्ति योजना बनाउन सुझाव दिएकी छिन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल र राज्यमन्त्री नवराज रावतलाई चैत ९ गते मन्त्रालयमा भेटी दैलेखका लागि कोरोना रोकथामका लागि भनिएको सामग्री माग गरिए अनुसार केही दैलेख पुगेको र बाँकी छिट्टै पठाइने साँसद बिशुन्केले अपिलमा लेखेकी छिन् ।
कोरोनाको संक्रमण रोक्न सरकारले गरेको ‘लकडाउन’का कारण मजदूरी गरेर मात्र छाक टार्नपर्ने र विपन्न परिवारहरु भोकै बस्नु परेकाहरुलाई खाद्यन्नको व्यवस्थापन गर्न, संक्रमण रोकथामका लागि सबै किसिमका पूर्व तयारी गर्न उनले स्थानीय सरकारहरुलाई आग्रह गरेकी छिन् ।
चैत १० गते सांसद बिशुन्केले मन्त्रीलाई भेटी दैलेखका ११ वटै पालिकामा स्वास्थ्यकर्मीले प्रयोग गर्ने ४ सय पीपीई सेट, ८० वटा आईआर थर्ममीटर, मास्क ७ हजार र स्वास्थ्यकर्मीले प्रयोग गर्ने १८ सय ग्लोव पठाउन लिखित रुपमा आग्रह गरेकी थिइन् ।
कोरोना रोकथामका लागि सरकारले गरेको प्रयासलाई आ–आफ्नै स्थानबाट सघाउन, सहकार्य, समन्वय र पृठपोषण दिन राजनीतिक दल, नागरिक समाज, सञ्चारकर्मी र सरोकारवालाई आग्रह गर्दै अपिलमा उनले छिट्टै जिल्ला आउने तयारी गरेको पनि उल्लेख गरेकी छिन् ।

प्रतिक्रिया