दैलेखको राकमकर्णाली स्वास्थ्यचौकीमा भर्ना भएका दुई बिरामीको रिर्पोट नेगेटिभ

दैलेखको राकमकर्णाली स्वास्थ्यचौकीमा भर्ना  भएका दुई बिरामीको रिर्पोट नेगेटिभ

दैलेखमा व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) सहित तयारी अवस्थामा रहेको सेनाको स्वास्थ्यकर्मीको टोली। तस्बिर – हिक्मतबहादुर नेपाली

हिक्मतबहादुर नेपाली
दैलेख चैत्र १६ ।
कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको आशंकामा दैलेखको राकमकर्णाली स्वास्थ्य चौकीको आइसोलेसनमा भर्ना गरिएका दुई जना बिरामीको रिर्पोट नेगेटिभ आएको छ । एकै घरका दुई दाजुभाईलाई ज्वरो र रुघा खोकी देखिएपछि गत बुधवार आठबीस नगरपालिका–४ स्थित स्वास्थ्य चौकी राकमकर्णालीमा भर्ना गरिएको थियो । शुक्रवार स्वास्थ्य सेवा निर्देशनालय सुर्खेत र स्वास्थ्य सेवा कार्यालय दैलेखको ल्याबको टोली राकमकर्णाली स्वास्थ्य चौकीमै पुगेर उनिहरुको नमुना संकलन गरी परीक्षणका लागि पठाइएको थियो ।
तर, उनिहरु दुवै जनाको स्वास्थ्य परिक्षणको रिर्पोटमा कोरोना भाइरस नभएको पुष्टि भएको छ । आइतवार दुबै जनाको रिर्पोट नेगेटिभ आएको आठबीस नगरपालिकाका स्वास्थ्य शाखा संयोजक देवराज तिमिल्सेनाले जानकारी दिए । उनिहरु दुवै जना बिरामी परेर स्वास्थ्य चौकीमा भर्ना हुनुभन्दा १० दिन अघि मात्रै भारतको मुम्बईबाट घर फर्किएको स्वास्थ्य शाखा संयोजक तिमिल्सेनाले जनाए । ‘अहिले उनिहरु दुवै जनालाई आइसोलेसन बेडमा राखिएको भएपनि स्वास्थ्य अवस्था भने सामान्य रहेको छ,’ स्वास्थ्य शाखा संयोजक तिमिल्सेनाले भने ।
दैलेख जिल्लाबाट नमुना संकलन गरी परिक्षणका लागि पठाईएको यो पहिलो पटक भएको दैलेख अस्पतालका प्रमुख डा. निरन्जन पन्तले बताए । यस अघि कुनै पनि बिरामीको स्वास्थ्य परिक्षणका लागि नपठाईएको डा. पन्तले जानकारी दिए । जिल्लाका विभिन्न स्थानीय तहमा भारत लगाएतका मुलुकबाट मजदुरी गरेर फर्किएका व्यक्तिहरु क्वारेन्टाइनमा बसेको भएपनि आइसोलेसनमा राखेर उपचार गर्नुपर्ने बिरामी नआएको डा.पन्तले जनाए ।

प्रतिक्रिया