कर्णालीमा पनि कोरोना (कोभिड-१९) भाइरसको परीक्षण सुरु

कर्णालीमा पनि कोरोना (कोभिड-१९) भाइरसको परीक्षण सुरु

दिनमा १५ जनाको नमूना परीक्षण

सुर्खेत : कर्णालीमा पनि कोरोना (कोभिड-१९) भाइरसको परीक्षण सुरु भएको छ। विश्वलाई नै त्रसित पारेको कोरोनाको परीक्षण प्रदेश राजधानी सुर्खेतमा पनि सुरु भएको हो। 

यसअघि बिरामीको नमूना परीक्षणका लागि काठमाडौं पठाउने गरिएकोमा बिहीबारबाट सुर्खेतमै परीक्षण सुरु भएको हो। अब कुनै पनि व्यक्तिमा कोरोनासंक्रमण भए नभएको परीक्षण वीरेन्द्रनगरमा रहेको प्रदेश अस्पताल कालागाउँबाटै थाहा हुनेछ। 

कोरोना परीक्षण गर्ने आरटीपीसीआर मेसिन बुधबार सुर्खेत ल्याइएको थियो।बुधवार रातीसम्म यो मेसिन अस्पतालमा रहेको प्रयोगशालामा जडान गरिएको हो। मेसिन जडान भएसँगै कोरोनाको परीक्षण पनि सुरु गरिएको कर्णालीका सामाजिक विकास मन्त्री दल रावलले जानकारी दिए।

प्रदेश स्वास्थ्य निर्देशनालय अन्तर्गतको प्रयोगशालाका इन्चार्ज ओम आचार्यले बिहीबारबाटै कोरोनाको परीक्षण थालिएको बताए। 

‘बुधबार रातभर लगाएर मेसिन जडान भयो, बिहीबारबाट नमूना परीक्षणको पनि काम थालेका छौं। अब परीक्षणका लागि नमूना काठमाडौं पठाउनुपर्ने बाध्यता रहेन’, आचार्यले भने, ‘कर्णालीका सबै नमूना सुर्खेतमै परीक्षण हुनेछन्।’ 

सुर्खेतमै कोरोना परीक्षण प्रयोगशाला स्थापना भएको र परीक्षणको रिपोर्ट पनि अब छिटो आउने आचार्यले बताए। सुर्खेतमा यो प्रविधि आएसँगै अब कर्णालीमा संकलन भएको नमूना यतै परीक्षण हुनेछ। 

सुर्खेतमा कोरोनाको परीक्षणका लागि संघीय सरकारले विशेषज्ञका रुपमा डाक्टर रामकृष्ण श्रेष्ठलाई पठाएको छ। कोरोना परीक्षण गर्ने उपकरणसँगै प्रयोगशाला स्थापना तथा सञ्चालन गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगाशालाको (सीडीएल)मा कार्यरत श्रेष्ठलाई प्रयोगशाला विज्ञका रुपमा सरकारले सुर्खेत पठाएको हो। 

बुधबार सुर्खेत आएका डाक्टर श्रेष्ठले एक सातासम्म प्रदेश अस्पतालका चिकित्सकहरुलाई कोरोना परीक्षण गर्ने तरिका र उपायबारे जानकारी दिनेछन्।एक सातासम्म डाक्टर श्रेष्ठको नेतृत्वमा प्रदेश अस्पतालका डाक्टरहरुकोरोनाको परीक्षणमा खटिनेछन्।

सुर्खेतमा कोरोनाको परीक्षण सुरु भएपछि डाक्टर श्रेष्ठले भने,‘अब क्वारेन्टाइनमा रहेका र शैकास्पद व्यक्तिहरुको नमूना परीक्षण हुन्छ, एउटा नमूनाको रिपोर्ट एक घण्टामै बाहिर आउनेछ। दिनमा १० वटासम्म नमूना परीक्षण गर्न सकिन्छ, तर दिनमा १८ घण्टासम्म खटेर पनि यहाँका साथीहरुले दैनिक १५ वटासम्म नमूना परीक्षण गर्ने लक्ष्य लिनुभएको छ।’ 

विज्ञको रुपमा सुर्खेत आएका डाक्टर श्रेष्ठ एक सातापछि प्रदेश अस्पतालको प्रयोगशालामा कार्यरत स्वास्थ्यकर्मीलाई सिकाएपछि उनी फर्कनेछन्।विश्वभरी नै कोरोनाको त्रास फैलिएपछि नेपाल सरकारले चीनबाट कोरोना परीक्षण सहितका उपकरण ल्याएको थियो। 

चीनबाट ल्याइएकोतिनै कोरोना परीक्षण गर्ने मेसिनसहित अन्य उपकरणहरुसुर्खेत ल्याइएको हो।सुर्खेतमा कोरोना परीक्षण सुरुभएसँगै काठमाडौं धाउनुपर्ने बाध्यताको अन्त्य भएको प्रदेश सरकारले जनाएको छ। 

यसअघि जिल्लाबाट कोरोना शंकास्पद बिरामीको नमूना परीक्षणका लागि स्वाव संकलगन गरी काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पठाउने गरिएको थियो। सुर्खेतमा परीक्षण सुरु भएसँगै अब प्रदेशका जिल्लाहरुबाट नमूना संकलन गर्दै परीक्षणलाई तीव्रता दिइने सामाजिक विकास मन्त्री दल रावलले बताए।

प्रतिक्रिया