राहत बाड्न मापदण्ड तयार : एक परिवारले कति पाउँछन् ?

राहत बाड्न मापदण्ड तयार : एक परिवारले कति पाउँछन् ?

काठमाडौं : दुई साता लामो लकडाउनबाट प्रभावित श्रमिक र असहायलाई उपलब्ध गराउने राहतको मापदण्ड तयार भएको छ। कोरोना संक्रमणका कारण उत्पन्न प्रतिकूल अवस्थामा सरकारले घोषणा गरेको राहत वितरणलाई व्यवस्थित गर्न मापदण्ड तयार गरिएको हो। यो मापदण्डले जथाभावी राहत वितरणका कारण लक्षित वर्गले राहत प्राप्त नगर्ने समस्याको समाधान गर्नेछ। २०७२ को विनाशकारी भूकम्पमा जथाभावी राहत वितरणलाई नदोहोर्याउन सरकारले मापदण्ड ल्याएको हो।मन्त्रिपरिषद्को निर्णयअनुसार राहत वितरणको पूर्णजिम्मेवारी स्थानीय तहलाई दिइएको छ। स्थानीय तहले मापदण्ड बमोजिम संघ, संस्था वा कुनै निकायमार्फत राहत संकलन गरी वितरण गर्नेछन्।

मापदण्डअनुसार वडा कार्यालयले असांगठनिक क्षेत्रका श्रमिक तथा असहायको अभिलेख तयार गर्नपर्नेछ। पसलबाट ग्राहकको घरसम्म सामान ओसारपोसार गर्नेदेखि गिटी, बालुवा चालेर जीवीकोपार्जन गर्नेसम्मको अभिलेख तयार गर्नुपर्ने मादण्डमा उल्लेख छ।

एक परिवारलाई एक एकाई मानी वडाले अभिलेख तयार पार्दछ। परिवारमा दुई जनासम्म सदस्य छ भने मापदण्डअनुसार आधा मात्रै राहत दिन पाइन्छ। दुई जनाभन्दा बढी सदस्य छन् भने पुरा राहत दिनुपर्ने मापदण्डमा उल्लेख छ। यद्यपि परिवारका कुनै अर्काे सदस्यले वैकल्पिक आय गरेको पाएमा राहत उपलब्ध नहुने उल्लेख छ।

एक परिवारलाई कुन सामग्री कतिसम्म दिने ?
चामल- ३० किलो
दाल- ३ किलो
नुन- दुई प्याकेट
खाने तेल- दुई लिटर
साबुन- ४ वटा
चिनी- दुई किलो

प्रतिक्रिया