डुङ्गेश्वर गाउँपालिकामा २५ लाखको राहत कोष

डुङ्गेश्वर गाउँपालिकामा २५ लाखको राहत कोष

हिक्मतबहादुर नेपाली
दैलेख :
कोरोना भाइरस (कोभिड–१९) को नियन्त्रण तथा यसबाट प्रभावितलाई राहत उपलब्ध गराउन दैलेखको डुङ्गेश्वर गाउँपालिकाले २५ लाखको राहत कोषको स्थापना गरेको छ । शुक्रवार बसेको गाउँ कार्यपालिकाको बैठकले स्थानीय सरकारको तर्फबाट २५ लाखको राहत कोष स्थापना गर्ने निर्णय भएको डुङ्गेश्वर गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष राजुकुमार खत्रीले जानकारी दिए ।
बैठकले महामारी नियन्त्रण तथा राहत वितरणका लागि हरेक वडामा वडाध्यक्षको संयोजकत्वमा सात सदस्यीय राहत समिति गठन गर्ने निणर्य गरेको छ । यस्तै गाउँपालिकाका ६ वटै वडाका सम्पूर्ण घरधुरीलाई दुई वटाका दरले हातधुने सावुन वितरण गर्ने, फिल्डमा खटिने स्वास्थ्यकर्मी तथा स्वंयमसेवीकाहरुलाई दुई हजार रुपैयाँ प्रदान गर्ने निणर्य गरिएको वडाध्यक्ष खत्रीले बताए । गाउँपालिकाले स्वास्थ्यकर्मी तथा स्वंयमसेवीकाहरुलाई खटाएर कोरोना भाइरसबाट बच्ने उपाएहरुबाट प्रचारप्रसार गर्नेभएको छ । कोरोना भाइरस विरुद्धको अभियानमा खटिने प्रहरी चौकी चुप्रालाई खाजा खर्च वापत १५ हजार, प्रहरी चौकी माथिल्लो डुङ्गेश्वरलाई १५ हजार र डाडापराजुल प्रहरी चौकीलाई १० हजार रुपैयाँ प्रदान गर्ने बैठकले निणर्य गरेको छ ।
गाउँपालिकाका अतिविपन्न पाँच जना भन्दा बढि सदस्य भएका परिवारलाई तीन हजार, पाँच जना सम्मको परिवारलाई दुई हजार पाँच सय र तीन जनासम्मको परिवारलाई एक हजार पाँच सय बराबरको राहत सामग्री वितरण गर्ने निणर्य गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले पहिलो चरणमा गाउँपालिका भित्रका सबै घरधनीहरुलाई चैत्र महिनाको भाडा नलिन आग्रह गर्ने निणर्य समेत गरेको छ ।
त्यसैैगरी गाउँपालिकाका सम्पूर्ण घरधुरीहरुलाई चैत्र महिनाको बिजुलीको सबै महसुल र उद्योगहरुलाई २५ प्रतिशत महसुल छुट दिने, सर्ब वडामा क्वारेन्टाइन स्थापना गरी भारत लगाएत तेस्रो मुलुकबाट आउने सबै व्यक्तिहरुलाई क्वारेन्टाइनमा बस्न लगाई खाना लगाएतका सम्पूर्ण व्यवस्थापन गाउँपालिकाले गर्ने निणर्य गरिएको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया