‘यत्ति भएपछि बाँचिन्छ’

‘यत्ति भएपछि बाँचिन्छ’

दैलेखको नारायण नगरपालिकामा विपन्न परिवारलाई खाद्यान्न वितरण गरिँदै ।

हिक्मतबहादुुर नेपाली
दैलेख
: चामलको बोरा बोकेर एक बृद्ध महिला बस्तीतीर लम्किएन् र भनिन् । ‘एक साता देखि चुल्हो बलेको थिएन, अब गएर पकाउँछु ।’ नारायण नगरपालिका–१ स्थित नमुना बादी बस्तीका ६३ बर्षीया धनकला बादीको खुसी हो यो । उनको घरमा चालम, नुन, तेल सकिएको थियो । बर्षौदेखि सुकुम्वासीको रुपमा बसोबास गर्दै आएकी उनले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण गर्न सरकारले लकडाउन गरेपछि झण्डै दुई साता देखि काम पाएकी छैनन् । उनि सदरमुकाममा सामान लोडअनलोड गरेर जीविकोपार्जन गर्दै आएकी थिइन् ।
काम नपाउँदा भोकभोकै बस्नु परेको उनी बताउँछिन् । तर, आइतवार वडामा राहत वितिरण लिन पुगेकी धनकलानिकै खुसी भइन् । एक खाना दुई छाक बनाउँदै आएकी धनकलाले भनिन् ‘सरकारलाई धन्यवाद, यत्ति भएपछि त बाँचिन्छ ।’ उनिजस्तै दैनिक ज्याला मजदुरीबाट जीविका चलाउँदै आएका स्थानीय दिपक बादी भन्छन् ‘मजदुरी गरी जीविकोपार्जन गर्दै आएको थिएँ, लकडाउन पछि काम नपाएर बिजोग थियो, सरकारले खाद्यान्न दियो, अब भोकै बस्नु पर्दैन ।’
उनिहरुजस्तै नागरायण नगरपालिकाका विभिन्न ११ वटै वडाका दैनिक ज्याला मजदुरीबाट जीविका चलाउनेहरु खुसी भएका छन् । दैनिक मजदुरी गरेर खानेलाई खाद्यान्न वितरढा गरेपछि उनिहरुले खुसी व्यक्त गरेका छन् । गरपालिकाले विपन्नलाई खाद्यान्न वितरण सुरु गरेको हो । लकडाउन घोषणा गरेपछि अफ्ठेरोमा परेका दैनिक ज्याला मजदुरीबाट जीविका चलाउनेहरुलाई वडा मार्फत पहिचान गरी खाद्यान्न वितरण गरिएको छ ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण १२ दिनदेखि लकडाउन छ । यसले गर्दा दैनिक ज्यालामजदुरी गरी छाक टार्ने वर्गलाई समस्या भएको छ । नगरपालिकाले दैनिक ज्यालादारी गर्ने मजदुर, अतिविपन्न र आर्थिक अवस्था कमजोर भएका परिवारलाई खाद्यान्न वितरण सुरु गरेको हो । नगरपालिकाले पहिलो पटक वडा नम्वर १ का विभिन्न बस्तीका गरी एक सय ५९ परिवारलाई खाद्यान्न सहयोग गरेको वडाध्यक्ष तिर्थनारायण श्रेष्ठले बताए ।
लकडाउनका कारण दैनिक गुजारा चलाउन नसक्ने अवस्थामा पुगेका नागरिकहरुलाई स्थानीय तह मार्फत राहत स्वरुप खाद्यान्न वितरण गर्ने सरकारको निणर्य अनुसार खाद्यान्न वितरण थालिएको नगपालिकाका मेयर रत्नबहादुर खड्काले बताए । राहत वितरण कार्यविधि पारित गरेर नगरपालिकाले प्रतिपरिवार २५ केजी चालम, २ केजी दाल, एक लिटर तेल, दुई केजी नुन र दुई वटा साबुनको प्याकेज बनानएको छ । नगरपालिकाका ९ सय ५४ घरपरिवारलाई राहत प्रदान गरिने मेयर खड्काले बताए । ‘राहत वितरण न्यायोेचित तरिकाले वितरण हुन्छ,’ मेयर खड्काले भने ‘लकडाउन अवधीमा दैनिक ज्वाला मजदुरी गरेर खाने र अति विपन्न समुदायलाई वडा–वडामा पुगेर राहत वितरण गरिनेछ ।’

प्रतिक्रिया