क्वारेन्टाइनमा राख्‍नै मुस्किल

क्वारेन्टाइनमा राख्‍नै मुस्किल

सुर्खेत /दैलेख : कर्णालीमा गाउँ भित्रिएकालाई क्वारेन्टाइनमा राख्न मुश्किल भएको छ। भारत र देशका अन्य सहरबाट गाउँ पुगेकाले क्वारेन्टाइनमा बस्न नमानेपछि जटिलता उत्पन्न भएको हो।

कोरोनाको संक्रमण रोक्न १४ दिनसम्म अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने भए पनि यहाँ निर्माण गरिएका अधिकांश क्वारेन्टाइन रित्तौ छन्। लकडाउनको अवधिमा गाउँ भित्रिएकाले क्वारेन्टाइनमा बस्न अटेर गरिरहेका छन्। मजदुरीका लागि भारतमा रहेका कर्णालीका अधिकांश नागरिक कोरोनाको त्रासपछि रातारात गाउँ पुगे। सयौंको संख्यामा गाउँ पुगे पनि न्यून संख्यामा मात्र मानिस क्वारेन्टाइनमा बसेका छन्। विशेषगरी स्थानीय तहले प्रभावकारी भूमिका निर्वाह नगर्दा क्वारेन्टाइन प्रयोगविहीन बनेका हुन् तर गाउँमा भने त्रास छाएको छ।

कर्णालीमा हालसम्म आठ हजारभन्दा बढी नागरिक भारत, तेस्रो मुलुक र देशका अन्य सहरबाट भित्रिएका छन्। जसमध्ये हालसम्म करिब साढे पाँच सयजना मात्र क्वारेन्टाइनमा रहेको सामाजिक विकास मन्त्रालयको तथ्यांक छ। बाँकी आगन्तुक गाउँमै घुमिरहेका छन्। संक्रमणको आशंका गरिएकालाई क्वारेन्टाइनमा राख्न नसक्दा निर्माण गरिएका अधिकांश क्वारेन्टाइन खाली छन्। प्रदेश सरकारले वीरेन्द्रनगरमा चार सय शैय्याको क्वारेन्टाइन बनाएको छ। तर, यो क्वारेन्टाइनमा जम्मा एक सय ९२ जना मात्र छन्। क्वारेन्टाइनमा बाँकी शैय्या भने खाली नै छन्।

कतिपय स्थानीय तहले नै क्वारेन्टाइनमा बसेकालाई धमाधम घर पठाउने काम गरिरहेका हुन्। दैलेखको महाबु गाउँपालिकाले बाहिरबाट भित्रिएका २१ जनालाई स्थानीय गैडाबाज माविमा राखेको थियो। तर, उनीहरुलाई दुई दिनमै गाउँपालिकाले नै घर पठाइदियो। गाउँपालिकाका अध्यक्ष जंगबहादुर शाहीले सेल्फ क्वारेन्टाइनमा बस्ने सहमतिमा छाडिएको बताए। उनले भने, ‘उनीहरुको गाउँ भित्रिने बेलामा विभिन्न नाकामा स्वास्थ्य चेकजाँच गरिएको थियो, यहाँ दुई दिनसम्म राख्दा पनि सबैमा ज्वरो नदेखिएपछि हामीले घर पठाएका हौं।’

दैलेखमा एक हजार पाँच सय व्यत्तिाm भित्रिएको तथ्यांक छ। तर ती मध्ये दुई सय २५ जना मात्रै क्वारेन्टाइनमा बसेका छन्। क्वारेन्टाइनमा राख्दा खर्च बढी हुने र निगरानीमा झन्झट हुने भन्दै स्थानीय तहले नै घर पठाउन थालेपछि समस्या बढेको हो। मुगुमा त्यहाँको मुगुकार्मारोङ गाउँपालिकाले ६० शैय्याको क्वारेन्टाइन तयार पारेको छ। गाउँपालिकाका अध्यक्ष छिरिङकाप्रे लामाका अनुसार लकडाउनपछि बाहिरबाट एक सय ६२ नागरिक गाउँ फर्किएका छन्। तर, उनीहरु कोही पनि क्वारेन्टाइनमा बस्न मान्दैनन्। प्रहरी प्रशासन नहुँदा सहरबाट गाउँ आएकालाई क्वारेन्टाइनमा राख्न नसकिएको गाउँपालिकाले जनाएको छ।

रुकुमपश्चिममा पनि स्थानीय तहले क्वारेन्टाइन स्थापना गरेका छन्। तर क्वारेन्टाइनमा बस्नेको संख्या भने न्यून छ। प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्यालका अनुसार यहाँ भारतबाट चार सय ६१ र अन्य मुलुकबाट २७ जना जिल्ला भित्रिएका छन्। तर अधिकांशलाई क्वारेन्टाइनमा राख्न सकिएको छैन। सल्यानमा रोजगारीका लागि भारत र अन्य मुलुक गएका सयौं नागरिक गाउँ फर्किए। प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले विदेशबाट आएकाहरु क्वारेन्टाइनमा नबस्दा गाउँमा त्रास नै फैलिएको बताए। स्थानीय तहले प्रभावकारी काम नगर्दा थप समस्या भएको उनको भनाइ छ।

प्रतिक्रिया