कोरोनाबाट जोगिन भन्दै दैलेखमा पञ्चबलि

कोरोनाबाट जोगिन भन्दै दैलेखमा पञ्चबलि

दैलेखमा पूजापाठ गर्दै धामीपुजारी ।

हिक्मतबहादुर नेपाली
दैलेख :
कारोना भाइरस (कोभिड-१९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले चैत्र ११ देखि देशैभर लकडाउन गरेको छ । संक्रमण रोक्न यतिबेला सरकारका संयन्त्र दिनरात सक्रिय छन् । सरकारले भीडभाड हुन नदिन लकडाउन गरे पनि दैलेखको एक गाउँमा त्यस विपरीत भेला भइ पूजापाठ र पशुबलि दिइएको छ । कोरोना भाइरसबाट बच्ने उपाएबारे जानकारी नहुँदा स्थानीय बासिन्दाले संक्रमणबाट जोगिन भन्दै कुल देउताको पुजापाठ गरेर पशुबलि दिएका हुन् ।

जिल्लाको महाबु गाउँपालिका–५ काशिकाँधमा हालै स्थानीय बासिन्दाले पञ्चबलि दिएका हुन् । स्थानीयले शुक्रबार तामझामसहित पुजापाठ र पशुबलि दिएपछि संक्रमणको जोखिम झनै बढेको छ । कोरोना भाइरसको महामारी रोकथामका लागि भन्दै स्थानीय सबै घरधुरी मिलेर रातभर महाबैको गाथमा पूजापाठ गरी कोटडाँडा पञ्चबलि हाल्ने डाँडामा पञ्चबलि दिएका हुन् ।

राँगा, सुगुर, बोका, कुखुरा, परेवाको बलि चढाइएको स्थानीय बताउँछन् । उनीहरूले गाउँमा कोरोनो भाइरस नभित्रियोस् भनेर पूजापाठसँगै देउतालाई पञ्चबलि बढाएको बताएका छन् ।

महाबैका धामी डिलबहादुर शाहीका अनुसार सबै घरपरिवार मिलेर रकम जम्मा गरी बलि दिएका हुन् । ‘श्रीमहाबैले भनेपछि सबै पूरा हुन्छ, यो कोरोना भाइरस हाम्रो गाउँमा भित्रिन सक्दैन्, हाम्रो देउताले भित्रिन दिँदैन,’ उनले भने । नेपालमा कोरोना भाइरसको संक्रमितको संख्या ९ पुगिसकेको छ । तर, शाही भन्छन् ‘हाम्रो देउताले नेपालमै कोरोनाको महामारी भित्रिन दिन्नँ भनेका छन्, त्यसो नभए पनि दैलेख जिल्लामा त भित्रिँदैन ।’

प्रतिक्रिया