कोरोनासँग लड्न सोसेकद्धारा स्थानीय तहलाई २५ लाखको सामग्री हस्तान्तरण

कोरोनासँग लड्न सोसेकद्धारा स्थानीय तहलाई २५ लाखको सामग्री हस्तान्तरण

हिक्मतबहादुर नेपाली
दैलेख चैत्र २५ ।

कारोना भाइरस (कोभिड–१९)को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले चैत्र ११ गते देखि देशैभर लकडाउन गरेको छ । संक्रमण रोक्न यतिबेला सरकारी निकायहरु दिनरात सक्रिय छन् । कोरोना भाइरस विरुद्ध तीनै तहका सरकारका संयन्त्रहरु क्रियाशिल बनेका छन् । यी सबै संयन्त्र कोरोना संक्रमण व्यक्तिहरुको खोजी, क्वारेटाइन निर्माण, राहत वितरण, विदेशबाट आएकाहरुलाई क्वारेन्टाइनमा व्यवस्थापन तथा सम्पर्क बाहिर रहेकाको खोजीसँगै लकडाउन कार्यान्वयनमा सक्रिय छन् ।
कोरोनाको संक्रमण रोकथाम, नियन्त्रण तथा सर्तकताका लागि दैलेखका स्थानीय तहहरुले सञ्चालन गरेको गतिविधिमा यहाँको एक गैरसरकारी संस्थाले सहयोग हस्तान्तरण थालेको छ । दैलेखको सामाजिक सेवा केन्द्र (सोसेक) नेपालले विभिन्न स्थानीय तहमा सहयोग सामग्री हस्तान्तरण गर्न सुरु गरेको हो । संस्थाले एकद्धार प्रणाली मार्फत सामग्री सहयोग थालेको हो । दातृ निकाय डिसीए नेपालको आर्थिक सहयोगमा संस्थाले २५ लाख ५१ हजार रुपैयाँ बराबरको स्वास्थ्य तथा खाद्यान्न सामग्री स्थानीय तहलाई हस्तान्तरण गर्ने जनाएको छ ।

दुल्लु नगरपालिकाका प्रमुख घनश्याम भण्डारीलाई स्वास्थ्य सामग्री हस्तान्तर गर्नुहुँदै संस्थाका संस्थापक अध्यक्ष हीरासिंह थापा

संस्थाका उप–कार्यकारी निर्देशक बसन्त श्रेष्ठका अनुसार दैलेखको नौमूले गाउँपालिका, दुल्लु नगरपालिका, नारायण नगरपालिका, गुराँस गाउँपालिका, भैरबी गाउँपालिका, भगवतीमाई गाउँपालिका र अछामको पञ्चदेवल विनायक नगरपालिकामा सामग्रीहरु दिइने श्रेष्ठले जनाए । स्थानीय तहको मागका आधारमा संस्थाबाट उपलब्ध गराउन सकिने सहयोगको आधारमा विपद् व्यवस्थापन समितिबाट अनुमोदन गराएर ती सामग्रीहरु स्थानीय तहहरुलाई हस्तान्तरण थालिएको हो । स्थानीय तहलाई दुई सय ५० क्वीन्टल चामल, ५ सय केजी नुन, ५ सय केजी चिनी, एक सय केजी चिया, एक हजार केजी दाल, ५ सय लिटर तेल स्थानीय तह मार्फत वितरण गरिनेछ ।
मंगलवारसम्म अछामको पञ्चदेवल विनायक नगरपालिका, दैलेखको दुल्लु नगरपालिका, आठबीस नगरपालिकामा खाद्यान्न हस्तान्तरण गरिसकेको संस्थाले जनाएको छ । संस्थाका अनुसार अन्य स्थानीय तहलाई तत्काल सामग्री हस्तान्तरण गरिनेछ । स्थानीय तहलाई हस्तान्तरण गरिएको खाद्य सामग्री स्थानीय तह मार्फत नै बादी समुदाय, एकल महिला, एचआइभी संक्रमित, अपांगता भएका व्यक्ति तथा अति विपन्न परिवारलाई वितरण गरिने संस्थाका स्थापक अध्यक्ष हीरासिंह थापाले बताए । स्थानीय तहको मापदण्ड अनुसार राहत वितरण गरिने उनले बताए । यस्तै क्वारेन्टाइन निर्माणका लागि बेड, पीपीई सेट, मास्क, सेनीटाइजर, ग्लोब्स लगाएतका सामग्रीहरु स्थानीय तहलाई हस्तान्तरण गरिसकिएको बताईएको छ । दुल्लु नगरपालिकाका प्रमुख घनश्याम भण्डारीले विपद्को घडीमा संस्थाबाट आएको सहयोगले स्थानीय तहलाई थप सहयोग पुगेको बताए ।
अछामको पञ्चदलेवल विनायक नगरपालिकालाई ६० बोरा चामल, ६० लिटर तेल, ६० प्याकेट नुन, ६० केजी दाल, ३० केजी चिनि, ८ केजी चिया र १० थान पीपीई सेट हस्तान्तरण भईसकेको छ । यस्तै दुल्लु नगरपालिकामा २५ केजीको १ सय ४६ बोरा सोनामनसुली चालम, ७३ लिटर तेल, १ सय ४६ प्याकेट आयोडिन नुन, १ सय ४६ केजी दाल, १ सय ४६ केजी चिनि र ३० केजी चियापत्ती, २ थान पीपीई सेट, ३ सय थान मास्क, २ प्याकेट ग्लोब्स, ३० पीस सेनीटाइजर, क्वारेन्टाइन निर्माणका लागि २० सेट बेड हस्तान्तरण भईसकेको छ ।
यसैगरी आठबीस नगरपालिकालाई २५ केजीका १ सय २८ बोरा चामल, ६४ लिटर तेल, १ सय २८ केजी नुन, १ सय २८ दाल, १ सय २८ चिनी, २५ केजी चिया तथा १२ सेट पीपीई सेट का साथै २५ बोरा चामल, २५ केजी दाल, १० केजी नुन र १३ लिटर तोरीको तेल क्वारेन्टाइनमा बस्ने व्यक्तिहरुका लागि नगरपालिकालाई हस्तान्तरण भईसकेको छ । भैरवी गाउँपालिकामा क्वारेन्टाइनका लागि १५÷१५ सेट बेड, तन्ना, सिरानी र कम्बल हस्तान्तरण गरिएको छ ।

प्रतिक्रिया