गुराँस गाउँपालिकाले सञ्चालनमा ल्यायो ६ स्थानमा सुपथ मूल्य पसल

गुराँस गाउँपालिकाले सञ्चालनमा ल्यायो ६ स्थानमा सुपथ मूल्य पसल

दैलेख चैत्र २८ : गुराँस गाउँपालिकाले गरिब तथा विपन्न समुदायका नागरिकलाई दैनिक जिविकोपार्जनमा सहयोग पु¥याउने उद्धेश्यले पालिका स्तलको गुराँसे बजार र वडा नं १, ५, ६, ७ र ८ मा सुपथ खाद्य पसल सञ्चालन गरेको छ । बाँकी वडामा पनि छिटै सुपथ मूल्य पसल सञ्चालन गर्ने योजना रहेको गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले जानकारी गराए ।
‘कोरोना भाइरसका कारण दैनिक जिविकोपार्जनमा समेत समस्या हुने परिवारलाई लक्षित गरी सुपथ खाद्य पसल सञ्चालन गर्न लागिएको हो, सुपथ खाद्य पसल सञ्चालनले गाउँमा हुने खाद्य संकटलाई समाधान गर्ने छ,’ उनले भने । लामो समयको लकडाउनले गर्दा दैनिक ज्यालादारीमा काम गरी जिवन निर्वाह गर्दै आएका परिवारलाई खाद्यान्न समस्याबाट राहत उपलब्ध गराउन पसल सञ्चालन गर्न लागिएको ओलीको भनाई छ । वडा कार्यालयको सिफारिसमा वडा कार्यालय नजिक सहकारीले पसल सञ्चालन गर्नेछन् ।
समुदायमा खाद्यान्न लगायतका दैनिक उपभोग्य सामाग्रीहरु लागत मूल्य भन्दा बढी नाफा लिएर विक्रि गर्ने गरिन्छ । जसले गर्दा विपन्न समुदायका परिवारलाई गर्जाे टार्न समस्या भईरहेको छ । सुपथ मूल्य पसलबाट सामान खरिद गरे अन्य पसलको भन्दा ८ देखि १० रुपैयासम्म कम मूल्यमा खाद्य वस्तु उपलब्ध हुनेछ । सुपथ मूल्य पसल कोरोना भाइरसको समस्यालाई मात्रै नहेरी दिर्घकालिन योजना बनाईएको ओलीले बताए । यसको लागि पालिकाले कार्यविधि बनाएको छ । उपाध्यक्षको संयोजकत्वमा नियमित अनुगमन हुनेछ ।
लकडाउनको समयलाई मध्यनजर गर्दै उच्च जोखिममा रहेका ८० घर परिवारलाई राहत वितरण गरिएको ओलीले बताए । गरिब घरपरिवार जसलाई बिहान खाए बेलुकी के खाउ भन्ने समस्या छ त्यस्ता परिवारलाई केही समयको लागि राहत प्याकेजको व्यवस्था गरिएको हो जुन तत्काल वडा मार्फत वितरण गरिएको छ । कोराना भाइरसको संक्रमणबाट नडराउन तर सुरक्षित रहन उनले सबैलाई आग्रह गरेका छन् ।
गुराँस गाउँपालिकामा रहेका ६ सय ७० जना जोखिममा रहेका बालबालिकाहरुलाई कोरोना भाइरसका कारण देशव्यापी रुपमा गरिएको लकडाउनले गर्दा झन जोखिम बढ्ने सम्भावना भएकाले त्यस्ता बालबालिकाको परिवारलाई लक्षित गरी राहत सुविधा उपलब्ध गराउनु पर्ने सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको सहयात्रा परियोजनाका बालसंरक्षण तथा बालअधिकार शासन संयोजक निर्मल अधिकारीको भनाई छ ।

प्रतिक्रिया