दैलेखमा ५९ जनाको स्वाब संकलन, २५ रिर्पोट ‘नेगेटिभ’

दैलेखमा ५९ जनाको स्वाब संकलन, २५ रिर्पोट ‘नेगेटिभ’

दैलेख चैत्र २८ : दैलेखका हालसम्म विभिन्न स्थानीय तहमा गरी ५९ जनाको स्वाब संकलन गरिएको छ । कोरोना संक्रमणको परीक्षण गर्न जिल्लामा अहिलेसम्मकै बढी नमूना स्वाब संकलन गरिएको हो । चामुण्डाविन्द्रासैनी नगरपालिकाको क्वारेन्टाइनमा बसेका १७ जना, आठबीस नगरपालिकाबाट २६ जना,नौमूले गाउँपालिका बाट ९ जना, दुल्लु नगरपालिकाबाट ६ जना र नारायण नगरपालिकाका १ जनाको स्वाब संकलन गरीएको हो । भारतलगायत तेस्रो मुलुकबाट आएका तथा क्वारेन्टाइनमा बसेकाको स्वाब संकलन गरिएको स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त प्रमुख डा. निरन्जन पन्तले जानकारी दिए ।

कोरोना भाइरसको संक्रमणको आशंकमा स्वाब परीक्षणका लागि पठाइएका ५९ मध्ये २५ जनाको रिर्पोट नेगेटिभ आएको डा. पन्तले जानकारी दिए । आठबीस नगरपालिकाबाट नमूना संकलन गरिएका २६ जनामध्ये दुईजनाको रिर्पोट नेगेटिभ आएको छ । केहि दिन पहिला ती दुई जनाको स्वाब परिक्षणका लागि काठमाडौं पठाइएको थियो । संक्रमणको आशंकामा ती दुई जनालाई राकमकर्णाली स्वास्थ्य चौकीमा आइसोलेसनमा राखेर उपचार गरिएको थियो ।

नमूना संकलन गरिएका अन्य २४ जनाको कोरोना परीक्षणका लागि सुर्खेतमा स्थापना भएको प्रयोगशालामा पठाइएको छ । उनिहरुको रिर्पोट आउन बाँकी रहेको डा. पन्तले जनाए । त्यसैगरी दुल्लु नगरपालिकाका ६ जना, चामुण्डाविन्द्रासैनी नगरपालिकाका १७ जनाको रिर्पोट नेगेटिभ आएको निमित्त प्रमुख डा. पन्तले जनाए । नारायण नगरपालिकाका १ जना, नौमूले गाउँपालिकाका ९ जनाको नमूना संकलन गरी काठमाडौं पठाईएको उनले बताए । 

जिल्लाभर २ सय २४ जनालाई क्वारेन्टाइनमा राखिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्रीका अनुसार सरकारले लकडाउन गर्नु अघि र पछि गरी दैलेखका ११ वटै स्थानीय तहमा गरी १४ सय ६६ जना भारत लगाएत अन्य अन्य देशबाट दैलेख आएका छन् । कोरोनाको महामारी रोकथामका लागि आवश्यक सम्पूर्ण पूर्व तयारीहरु गरिएको सहायक प्रमुख जिल्ला अधिकारी क्षेत्रीले बताए । हालसम्म जिल्लामा कुनै पनि व्यक्तिमा संक्रमण नदेखिएको उनले बताए । 

प्रतिक्रिया