बागलुङमा गरिएको परीक्षणमा एक जनाको रिपोर्ट पोजेटिभ

बागलुङमा गरिएको परीक्षणमा एक जनाको रिपोर्ट पोजेटिभ

फोटो फाइल

बागलुङ- भारतमा तीर्थयात्रामा गएर फर्केकी एक ६५ वर्षीया महिलाको र्यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) किटबाट गरिएको परिक्षणमा पोजेटिभ रिपोर्ट आएको छ । आइतबार काठेखोला गाउँपालिकामा गरिएको परीक्षणको क्रममा वडा नं. ६ बाट आएकी ती महिलाको रिपोर्ट पोजेटिभ देखिएपछि क्वारेन्टाइनमा राखेर स्वाब परीक्षणको तयारी गरिएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले बताए ।

लकडाउन हुनुभन्दा केही समयअघि उनी भारतको गया भन्ने स्थानमा तीर्थयात्रा गएको खुलेको छ। उनको साथमा गएकाहरुको पनि खोजी भइरहेको गाउँपालिका अध्यक्ष अमर थापाले बताए। उनको घर परिवार र सम्पर्कमा रहेकाहरुको पनि स्वाब परीक्षण गर्न लगाउने उनले बताए।

यो गाउँपालिकामा ४४ जना भारतबाट आएका र ८ जना अन्य देशबाट आएकाहरुको आरडीटी किटबाट कोभिड-१९ परीक्षण गरिएको थियो। उनको स्वाब संकलन गरेर तत्काल पोखरा पठाइने धौलागिरि अञ्चल अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. शैलेन्द्र पोखरेलले बताए।

‘आरडीटी शतप्रतिशत प्रभावकारी नहुने भएकोले स्वाब परीक्षणपछि मात्र पोजेटिभ भए/नभएको बताउन सकिन्छ,’ पोखरेलले भने, ‘तत्कालका लागि शंकास्पदको रुपमा क्वारेन्टाइन गरेर अब्जर्भेसन गरिन्छ।’

प्रतिक्रिया