चैतको विकास खर्च ८ अर्ब ७४ करोड मात्रै

चैतको विकास खर्च ८ अर्ब ७४ करोड मात्रै

काठमाडौं वैशाख । कोरोना भाइरस (कोभिड–१९) को असर विकास खर्चमा प्रत्यक्ष देखिएको छ । चालु आर्थिक वर्षको ९ औं महिना बितिसक्दा मात्र २५.७९ प्रतिशत विकास खर्च भएको छ । अझ कोरोनाबाट अति प्रभावित चैत महिनामा विकास खर्चमा व्यापक कमी आएको छ ।

सरकारले बजेटको अर्धवार्षिक समीक्षाबाट संशोधन गरेको लक्ष्य अनुसार फागुनयता हरेक महिना झण्डै ५० अर्ब रुपैयाँ विकास खर्च हुनुपर्ने थियो । तर, चैत महिनामा पौने नौ अर्ब रुपैयाँ विकास खर्च भएको छ ।

महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार चैत मसान्तसम्म कूल विकास खर्च एक खर्ब पाँच अर्ब २२ करोड ४५ हजार भएको छ । यो चालु आवमा विनियोजित विकास खर्चको २५.७९ प्रतिशत मात्र हो । फागुनमा विकास खर्च ९६ अर्ब ४८ करोड रुपैयाँ थियो । चैतमा मात्र आठ अर्ब ७४ करोड रुपैयाँ विकास खर्च भएको तथयांकले देखाएको छ ।

सरकारले २० चैतसम्म ठेक्का लागेकोबाहेक सरकारी निकायबाट हुने खरिद प्रक्रिया रोकेको छ । अर्थ मन्त्रालयका अनुसार सरकारको सबै ध्यान कोरोना महामारी नियन्त्रण, रोकथाम र उपचारमा लगाउनु पर्ने भएकाले स्रोत साधनलाई सोहीतर्फ केन्द्रित गरिएको छ । सरकारले चालु आवमा कूल चार खर्ब आठ अर्ब रुपैयाँ विकास खर्च विनियोजन गरेकोमा अर्धवार्षिक समीक्षाले यसलाई तीन खर्ब २६ अर्ब ८१ अर्बमा झारेको थियो ।

विकासको मुख्य सिजनमै धक्का

नेपालमा फागुन मसान्तसम्म ठेक्का पट्टाको करिब सकिएर काम शुरु हुन्छ । विकास निर्माणको काम हुने सबभन्दा मुख्य समय चैत–असार हो । राष्ट्रिय योजना आयोगका सदस्य डा. सुशील भट्ट विकास खर्चको ठूलो हिस्सा यसै अवधीमा खर्च हुने बताउँछन् । ‘तर, यस वर्ष विकासको मूख्य समयमा नै धक्का लागेकोले चालु आवमा तोकिएका धेरै लक्ष्य अधुरो रहने देखियो’, उनी भन्छन्, ‘अहिले शुरु मात्र भएको कोरोना भाइरसले दूरगामी असर पार्ने भयो ।’

शीर्षकफागुन मसान्तचैत मसान्तवृद्धि
पूँजिगत खर्च९६ अर्ब ४८ करोड  १२ लाख (२३.६५ प्रतिशत)१ खर्ब ५ अर्ब २२ करोड ४५ लाख  (२५.७९)८ अर्ब ७४ करोड ३३ लाख
चालु खर्च४ खर्ब ५० अर्ब ७८ करोड ८६ लाख (४७.१० प्रतिशत)४ खर्ब ९५ अर्ब ३९ करोड ५४ लाख (५१.७६ प्रतिशत)४४ अर्ब ६० करोड ६८ लाख
वित्तीय व्यवस्था६२ अर्ब ९७ करोड (३७.५२)७४ अर्ब २३ करोड ६५ लाख (४४.२३)११ अर्ब २५ करोड ९२ लाख

चालु खर्च भने सन्तोषजनक रुपमै भइरहेको छ । महालेखाको तथ्यांकअनुसार चैतमा मात्र ४४ अर्ब ६० करोड ६८ लाख रुपैयाँ चालु खर्च भएको छ । सरकारले खर्च हुन नसक्ने देखिएका र चैतसम्म पनि ठेक्का नलागेका आयोजनाहरुको बजेट रकमान्तर गरेर कोरोना रोकथाम तथा त्यसले पारेको क्षति न्यूनीकरणमा लगाउने भएको छ । यसरी हुने खर्च चालु शीर्षकमा जान्छ ।

राजस्व संकलन अपेक्षाकृत

चालु आवको चैतसम्म सरकारले कूल पाँच खर्ब ९० अर्ब ६३ करोड ५२ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । फागुन मसान्तसम्म पाँच खर्ब ४६ अर्ब ७१ करोड ८८ लाख रुपैयाँ राजस्व संकलन भएको थियो । एक महिनाको अवधीमा ४३ अर्ब ९१ करोड ६४ लाख रुपैयाँ संकलन भएको छ । त्यसमध्ये चैत मसान्तको दिन मात्र १५ अर्ब १८ करोड २४ लाख रुपैयाँ संकलन भएको छ । यसमा एनसेलले मात्र १४ अर्ब ३३ करोड रुपैयाँ लाभकर बुझाएको छ ।

सरकारले चैतमा आवधिक कर बुझाउन नसके बैशाख मसान्तसम्म बुझाए हुनेगरी म्याद थप गरेको छ । सोहीकारण धेरैजसो व्यावसायीक घरानाले यो अवधिमा बुझाउनुपर्ने विभिन्न प्रकारका कर बुझाएका छैनन् । अनलाइनखबरबाट साभार गरिएकाे ।

प्रतिक्रिया