संक्रमित महिलासँगै आएका दैलेखका युवकको स्वाब संकलन

संक्रमित महिलासँगै आएका दैलेखका युवकको स्वाब संकलन

हिक्मतबहादुर नेपाली

दैलेख ,वैशाख २ गते : सुदूरपश्चिम प्रदेशअन्तरगर्त कैलाली जिल्लाको लम्कीचुहा नगरपालिकाकी कोरोना भाइरस संक्रमित महिलाको सम्पर्कमा आएका दैलेखका एक युवकको स्वाब संकलन गरिएको छ ।  दैलेखको नारायण नगरपालिका ११ बिन्ध्याबासीनी काँडाका ती युवकको स्वाब संकलन गरिएको हो । दैलेख अस्पतालबाट खटिएको स्वास्थ्यकर्मीको टोलीले उनको स्वाब संकलन गरेका हुन् ।

ती युवकसँगै उनको परिवारका श्रीमती, छोरी र बुबाको समेत स्वाब संकलन गरिएको दैलेख अस्पतालका प्रमुख डा. निरन्जन पन्तले बताए । स्वाब नमूना संकलन गरी परीक्षणका लागि कर्णाली प्रदेश सरकारले प्रदेश अस्पताल सुर्खेतमा स्थापना गरेको कोरोना परीक्षण प्रयोगशालामा पठाइएको डा.पन्तले बताए ।

संक्रमित महिलाको सम्पर्कमा आएका युवकको र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट कोरोना परीक्षण गरिएको छ । आरडीटी विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरसको संक्रमण नदेखिएको डा.पन्तले जानकारी दिए ।  

अलपत्र परेको अवस्थामा ती युवक कोरोना भाइरस संक्रमित महिलासँगै बिरगंजबाट चैत्र १७ गते दैलेख पठाईएको थियो । कोरोना संक्रमित महिलासहित कैलालीका ३१, दैलेखका एक, सुर्खेतका एक, अर्घखाँचीका एक, दाङका एक जना गरी ३५ जना एउटै गाडीमा पठाईएको बताईएको छ ।

दैलेखका ती युवकले आफ्नो स्वास्थ्यमा समस्या नदेखिएको बताएका छन् । मंगरबार अन्नपूर्णसँग टेलिफोनमा कुरा गर्दै उनले भने, ‘मेरो स्वास्थ्यमा समस्या देखिएको छैन्, घरमै बसिरहेको थिएँ।’

प्रतिक्रिया