कोरोनाको घरेलु पद्धतीको उपचार खोज्नुपर्छ : सभामुख शाही

कोरोनाको घरेलु पद्धतीको उपचार खोज्नुपर्छ : सभामुख शाही

फोटो फाइल

काठमाडौं, वैशाख ३ गते। कर्णाली प्रदेशसभाका सभामुख राजबहादुर शाहीले कोरोना भाइरस (कोभिड–१९) को जोखिम न्युनीकरण गर्न परम्परागत र घरेलु उपचार पद्धतीलाई प्रोत्साहन गर्नुपर्ने बताएका छन् । बुधबार राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आयोजना गरेको सातै प्रदेशका सभामुखहरुसँगको भर्चुअल बैठकमा उनले परम्परागत उपचार पद्धतीलाई प्रोत्साहन गर्ने खालका कार्यक्रम ल्याउन संघीय सरकारलाई आग्रह गरेका छन् ।

बैठकपछि उनले चीनमा घरेलु र परम्परागत उपचार पद्धती नै प्रभावकारी देखिएको बताए । ‘चिनियाँहरुले तातो बाफ लिएर, तातो दुध, अदुवा, लसुन, बोझो खाएर रोग प्रतिरोधात्मक क्षमता बढाए । परिणाममा चीनमा कोरोना रोकथाम भएको छ भने हामीले घरेलु उपाय किन नअपनाउने ?’ शाहीले भने ।पुर्खाहरुले कोरोनाजस्ता ठूला महामारी सामना गरेर आएको भन्दै उनले परम्परागत र घरेलु उपचार पद्धतीबाट पनि कोरोनाको सामना गर्नुपर्ने बताए ।

‘अहिलेका जस्ता आधुनिक अस्पताल र प्रविधि थिएनन् । तर, कोरोनाजस्ता महामारीको सामना गरेरै आएका हुन् । पुर्खाहरुले त्यस्ता रोगहरुका विरुद्धमा जो औषधि प्रयोग गर्नुहुन्थ्यो त्यो यो रोग नियन्त्रणमा प्रभावकारी हुन सक्छ’ उनले भने । सभामुख शाहीले तत्काल परम्परागत र घरेलु उपचार पद्धतीबारे जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा समेत जोड दिएका छन् । उनी भन्छन्, ‘तितेपातीको चिया खाऔं, नुनपानी खाऔं, तातो दुध खाऔं, बाफ लिऔं, चर्पी तातो राख्ने जस्ता सरल स्वास्थ्य जानकारीलाई ब्यापक रुपमा जगाउनुपर्छ ।’

तितेपातीको चिया कुन र कति मात्रामा खाने भन्ने विषयमा भने बैद्यसँग सल्लाह लिनुपर्ने उनले सुझाव दिए । सभामुख शाही भन्छन्, ‘तितेपाती विभिन्न रोगका विरुद्धमा प्रयोग हुँदै आएको छ । चिया खाँदा वा औषधिमा प्रयोग गर्दा मात्रा कति गर्ने के गर्ने ? भन्ने विषयमा वैद्यहरुसँग सल्लाह लिनुपर्छ ।’ गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले पनि पूर्खाले कोरोना जस्ता महामारीसँग लडेको अनुभवलाई अनुशरण गर्नुपर्ने बताए । सभामुख अधिकारी भन्छन्, ‘हाम्रा पुर्खाका उपचार पद्धतिलाई पनि अनुशरण गर्नुपर्छ । बढी आधुनिकतामा मात्रै जान हुँदैन ।’

प्रतिक्रिया