कोरोना आशंका गरिएका रुकुम पश्चिमका दुई व्यक्तिको रिपोर्ट नेगेटिभ

कोरोना आशंका गरिएका रुकुम पश्चिमका दुई व्यक्तिको रिपोर्ट नेगेटिभ

रुकुम वैशाख ६ गते : रुकुम पश्चिममा कोरोना भाइरस (कोभिड– १९) संक्रमणको आशंका गरिएका दुई पुरुषको रिपोर्ट नेगेटिभ आएको छ । जिल्लाको बाँफिकोट गाउँपालिका ६, का ३६ वर्षीय र ७ नम्बर वडाका ३७ वर्षीय पुरुषको पिसिआर रिपोर्टमा कोरोनाको संक्रमण नभएको पुष्टि भएको हो ।

धनगढीस्थित पिसिआर प्रयोगशालामा दुबै जनाको रिपोर्ट पोजेटिभ आएपछि पुनः परीक्षणका लागि काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु पठाइएको थियो । त्यहाँ गरिएको परीक्षणबाट दुबैको रिपोर्ट नेगेटीभ आएको हो । उनीहरूको थ्रोट स्वाब परीक्षणका क्रममा कोरोना संक्रमणको आशंका गरिएपछि जिल्लामा एक्कासी त्रास उत्पन्न भएको थियो । 

उक्त गाउँपालिका क्षेत्रका ती दुई व्यक्तिका साथै अन्य ३७ जनासँगैको पिसिआर रिर्पोट सुर्खेतबाट परीक्षणका लागि धनगढी पठाइएको थियो । धनगढीबाट आशंका गरिएपछि उनीहरूको थ्रोट स्वाब परीक्षणका लागि बिहीबार दिउँसो टेकु पुर्याइएको स्वाबको रिर्पोट शुक्रबार बेलुकी आएको र दुवैको रिपोर्ट नेगेटिभ आएको प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्यालले जानकारी दिए ।

आशंका गरिएका दुवैको स्वास्थ्य अवस्था सामान्य रहेकाले डिस्चार्ज गर्ने कि केही दिन आइसोलेसनमा नै राख्ने भन्नेबारे छलफल भइरहेको उनले बताए । उनीहरु दुवै जना गत चैत ९ गते भारतबाट गाउँ पुगेका थिए । सुरुदेखि नै उनीहरुमा कोरोना भाइरसको कुनै लक्षण देखिएको छैन ।

धनगढी प्रयोगशालामा उनीहरुको रिपोर्ट शंकास्पद आएपछि दुवैलाई चौरजहारीस्थित कोरोना आइसोलेसन अस्पतालमा भर्ना गरिएको थियो । आइसोलेसन अस्पताल लैजानु अघि घरमै गरिएको र्यापिड डाइगोनोस्टिक टेष्टको रिपोर्ट पनि नेगेटिभ आएको थियो । दुबै जनाको कारोना भाइरसको आशंका गरिएपछि यहाँका दुई वडामा आरडिटि गरिएको थियो । दुई सय ३३ जनामा गरिएको आरडिटिमा सबैको रिपोर्ट नेगेटिभ नै आएको छ । रिपोर्ट नेगेटिभ आएपछि जिल्लामो त्रास समेत कम हुँदै गएको छ । तर जिल्लाका विभिन्न ठाउँमा सतर्कता भने बढाइएको छ ।

प्रतिक्रिया