खेतीयोग्य जमिन बाँझो छोड्न नपाइने

खेतीयोग्य जमिन बाँझो छोड्न नपाइने

दैलेख वैशाख ७ गते : आठबीस नगरपालिकाले खेतीयोग्य जमिन बाँझो राख्न नपाइने निर्णय गरेको छ । कोरोनाभाइरस प्रकोपको कारणले भावि दिनमा खाद्यान्न अभावको संकट उत्पन्न हुनसक्ने सम्भावना रहेको भन्दै नगरपालिकाले उक्त निर्णय लिएको हो । 

नगरपालिकाले खाद्यान्न उत्पादनमा किसानलाई आवश्यक पर्ने सबै सामाग्री उपलब्ध गराउने निर्णय गरेको छ । ‘कृषिजन्य खाद्यान्न उत्पादन गरौँ, भोकमरीबाट बचौँ’ भन्ने अभियान अन्तरगत जग्गा बाँझो नछोड्ने र खेतीबाली लगाउने नीति अबलम्बन गर्ने निणर्य भएको मेयर खड्गराज उपाध्यायले बताए ।

निर्णय अनुसार अब सम्बन्धित वडा कार्यालयले आफ्नो वडाभित्र कसको कति जग्गा छ, तिनलाई आवश्यक बिउविजन तथा प्रविधिसामाग्रीको तथ्याकं विवरण संकलन गरी सात दिनभित्र नगरपालिकामा पेश गर्नुपर्नेछ ।

नगरपालिकाले अब खेतीयोग्य जमिन बाँझो राख्ने घरधुरीको तीनपुस्ते विवरण सार्वजनिक गर्नेछ । खेतीयोग्य जमिन बाँझो राख्ने घरपरिवारले नगरपालिकाबाट वितरण हुने राहत लगायतका सहायता नपाउने भएका छन् । मेयर उपाध्यायका अनुसार त्यस्ता व्यक्तिलाई नगरपालिकाबाट संचालित विकासे योजनाको उपभोक्ता समितिमा समाबेश नगर्ने लगायत नगरपालिकाबाट प्रदान गरिने कुनै पनि सेवा सुविधा प्रदान नगर्ने निर्णय गरिएको छ ।

प्रतिक्रिया