गुराँसेमा हेल्प डेक्स स्थापना गरिने

गुराँसेमा हेल्प डेक्स स्थापना गरिने

जिल्ला प्रवेश गर्ने नागरिकहरुलाई गुराँसेमा चेकजाँच गरिँदै । फाइल तस्बिर।

दैलेख वैशाख १० गते ।
कोरोना भाइरस (कोभिड १९) रोकथामका लागि जिल्ला संकट व्यवस्थापन केन्द्र दैलेखको बिहिवार बसेको बैठकले जिल्लाका ११ वटै स्थानीय तहहरुले दैलेख प्रवेश गर्ने मुख्य नाका गुराँसेमा हेल्प डेस्क राखी आफ्नो पालिकाका बासिन्दाहरुलाई उपयुक्त सवारी साधनबाट लैजाने व्यवस्था मिलाउने निर्णय गरेको छ । आफ्नो घर आउँदै गरेका नागरिकहरुको बारेमा स्थानीय पालिकाहरुले जानकारी नपाइरहेको कारण क्वारेण्टाइनमा ल्याउन ढिलाई हुने र पैदल हिँड्दा यात्रुहरुलाई खाना बस्न समस्या पर्ने गरेको कारण नागरिकहरुको सुरक्षाका लागि यस्तो निर्णय गरिएको जिल्ला समन्वय समितिका संयोजक प्रेमबहादुर थापाले बताए ।
जिल्ला संकट व्यवस्थापन केन्द्रका संयोजक प्रमुख जिल्ला अधिकारी युवराज कटेलको अध्यक्षतामा बसेको उक्त बैठकले भारत र तेश्रो मुलुकबाट आएका नागरिकहरुलाई सिधै क्वारेण्टाइनमा राख्ने र नेपाल भित्रबाटै कम जोखिम भएका ठाउँबाट आएकाहरुलाई वडाका जनप्रतिनिधिको निगरानीमा घरमै क्वारेण्टाइन नियम पालना गर्न लगाउने निर्णय भएको छ । बैठकले व्यवसाय, मजदुर वा काम विशेषले बाहिर जिल्लाबाट दैलेख आउने र दैलेख हुँदै साविकको कर्णाली जानेहरुलाई सुर्खेत जिल्लाबाट दिइने सवारी पास लिएकाहरु दिउँसो १२ बजेसम्म पठाउने व्यवस्था गर्न कर्णाली प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी कटेलले जानकारी दिए ।
जिल्ला संकट व्यवस्थापन केन्द्रका सदस्यहरु इन्द्रदल गुल्मका सेनानी गणेश पन्त, सशस्त्र प्रहरी नायव उपरीक्षक जीवन भट्टराई, प्रहरी नायव उपरीक्षक हरिबहादुर ओली, दैलेख अस्तालतका इञ्चार्ज डा. निरञ्जन पन्त र सल्लाहकार द्वय जिल्ला समन्वय समितिका संयोजक प्रेमबहादुर थापा र नारायण नगरपालिकाका नगरप्रमुख रत्नबहादुर खड्काको उपस्थिति थियो ।

प्रतिक्रिया