दश दिनमै बन्याे काेराेना अस्पताल

दश दिनमै  बन्याे काेराेना अस्पताल

रुकुम वैशाख १४ गते । आठबीसकोट नगरपालिकाको केन्द्र राडीबजारमा १० दिनमै सुविधासम्पन्न कोरोना अस्पताल निर्माण भएको छ ।  नगरपालिकाले स्थानीयको सहकार्यमा १२ शय्याको अस्पताल बनाएको हो ।नगर कार्यपालिकाले गत चैत २५ गते निर्णय गरेलगत्तै अस्पतालका लागि पक्की भवन निर्माणको काम सुरु गरिएको थियो । निर्माणस्थलमा सडक सुविधा नभएकाले सडकको ट्र्याक खोल्न केही दिन लागेको नगरप्रमुख गोर्खबहादुर केसीले बताए ।

अस्पतालमा ६ विशेष र एक नर्मल वार्ड छन् । अस्पतालका ६ वटा कोठामा एटेच बाथरुम, एयर कन्डिसन सुविधा, तातोपानी आउने प्रविधि र भाइटल साइन मनिटर जडान गरिएको छ । विशेष वार्डमा एक/एक र नर्मल वार्डमा ६ बेड राखिएको केसीले जानकारी दिए । ‘हरेक बेडमा अक्सिजनको व्यवस्था गरेका छौं, बालबालिकालाई पनि छुट्टै उपचार गरिनेछ,’ उनले भने, ‘कोरोना संक्रमणको आशंका गरिएकालाई विशेषमा र पुष्टि भइसकेकालाई नर्मलमा राख्ने हाम्रो तयारी छ ।’

लकडाउनकै समयमा निश्चित दूरी कायम गरी रात–दिन दुई चरणमा काम गरेर अस्पताल निर्माण गरिएको नगरपालिकाले जनाएको छ । ‘सबैतिर महामारीको त्रास फैलिन थाल्यो, त्यसैले अस्पताल बनाउनुको विकल्प थिएन,’ नगरप्रमुख केसीले भने, ‘स्थानीयले समूह, सहकारी र पार्टीको तर्फबाट श्रमदान गरे ।’ उनका अनुसार अस्पताल बनाउन ज्येष्ठ नागरिक र अपांगसमेतले नगद सहयोग गरेका छन् । नगरपालिकाका अनुसार स्थानीयले विभिन्न माध्यमबाट अस्पताल निर्माणमा १५ लाख रुपैयाँ सहयोग गरेका थिए ।

अस्पताल निर्माणका लागि ८९ लाखको डिजाइन स्टिमेट गरिएकोमा ७५ लाखमा निर्माण सकिएको थियो । अस्पतालभित्र नर्सिङ स्टेसनसमेत छ । नगर अस्पताल परिसरमा निर्माण भएको कोरोना अस्पताललाई यसपछि सबै सरुवा रोगको उपचारमा प्रयोग गर्ने नगरपालिकाको योजना छ । बिरामी भर्नाका लागि अस्पताल तयार भएसँगै ३ वटा मेडिकल टिम तयारी अवस्थामा राखिएको छ । नगर अस्पतालमा कार्यरत चिकित्सकको नेतृत्वमा स्वास्थ्यकर्मी उपचारमा खटिनेछन् ।

१० दिनमा सुविधासम्पन्न अस्पताल तयार भएपछि इच्छाशक्ति भए गर्न सकिँदो रहेछ भन्ने आशा जागेको स्थानीय तुलबहादुर चन्दले बताए । उनले अस्पताल निर्माणका लागि पाँच दिन श्रमदान गरेका थिए । स्थानीय कमला केसीले नगर अस्पताल सरकार र नागरिक सहकार्यको उत्कृष्ट नमुना भएको बताइन् ।

प्रतिक्रिया