लोपोन्मुख राउटेले पाए खाद्यान्न

लोपोन्मुख राउटेले पाए खाद्यान्न

राउटे समुदायलाई खाद्यान्न वितरण गरिदै । तस्विर : ज्वाला सन्देश

हिक्मतबहादुर नेपाली
दैलेख वैशाख १४ गते ।
कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले लगाएको लकडाउनका कारण खाद्य संकटमा परेका लोपोन्मुख राउटे समुदायलाई दैलेखको एक गैह्रसरकारी संस्थाले खाद्यान्न उपलब्ध गराएको छ । कर्णाली प्रदेशका विभिन्न जिल्लाका जंगलमा फिरन्ते जीवन बिताउने यो समुदायलाई एईआएन लक्जेम्बर्गको आर्थीक सहयोगमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले खाद्यान्न उपलब्ध गराएको हो । जंगलमा कु–काठबाट कोसी, मधुस, खाट, आरी जस्ता भाँडा बनाएर बिक्री गरी जीवन गुजारा गर्दै आएको यो समुदाय कोरोना भाइरसको कारण संकटमा छ । पुस्तौँ देखि आफुहरुको खेतीपाती भनेकै कुकाठबाट भाडा बनाउने रहेको उनिहरु बताउँछन् । राउटे मुखिया सुर्यनारायण शाहीले लकडाउनका कारण आफुहरुले निर्माण गरेको भाडा बिक्री गर्न नपाएपछि गुजारा चलाउन समस्या परेको बताए ।

राउटे समुदायलाई खाद्यान्न वितरण गरिदै । तस्विर : ज्वाला सन्देश

दैलेखको गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज ओली, सोसेकका पूर्व अध्यक्ष हीरासिंह थापा लगाएत राउटे बस्तीमा पुगेर खाद्यान्न प्रदान गरिएको हो । राउटे समुदायका ४६ घरपरिवारलाई एक–एक बोरा चालम, एक–एक केजी दाल, एक–एक केजी नुन, आधा लिटर तेल र तरकारी उपलब्ध गराईएको हो । यस्तै हरेक घरपरिवारलाई मास्क, हातधुने साबुन, सेनीटाइजर उपलब्ध गराईएको बताईएको छ । सोसेकका पूर्व अध्यक्ष थापाले लकडाउनका कारण राउटे समुदायमा खाद्यान्न संकट उत्पन्न भएकाले खाद्यान्न उपलब्ध गराईएको बताए ।
राउटे समुदाय दैलेखको गुराँस गाउँपालिकाका स्थायी बासिन्दा हुन् । गाउँपालिकाले उनिहरुलाई स्थायी बासिन्दाको परिचयपत्र उपलब्ध गराएको थियो । गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले कुकाठबाट भाडा बनाउने र बिक्री गरि गुजारा चलाउने यो समुदाय अहिले समस्यामा रहेको बताए । यस्तो अवस्थामा सरकारी तथा गैह्रसरकारी संस्थाहरुले सहयोग गर्नु आवश्यक रहेको अध्यक्ष ओलीको तर्क छ ।
त्यसैगरी राउटे समुदायको नागरिकहरुको स्वास्थ्य जाँच गरिएको छ । विश्वभर कोरोना भाइरसको संक्रमण बढिरहेका बेला राउटे समुदायका एक सय ५२ जना सदस्यहरुको स्वास्थ्य जाँच गरिएको हो । समुदायमा सञ्चालित राउटे परियोजनाका अहेव विनोद बिसीले भने ‘सबैको स्वास्थ्य जाँच ग¥यौ, कसैलाई पनि उच्च ज्वरो देखिएन्, सबैको अवस्था सामान्य छ ।’ राउटे समुदायमा एईआएन लक्जेम्बर्ग र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको साझेदारीमा ‘राउटे परियोजना’ सञ्चालित छ । राउटे समुदाय अहिले सुर्खेतको भेरीगंगा नगरपालिका–२ स्थित सत्तरी नजिकैको छिन्चु खोला किनारमा बस्दै आएको छ ।

प्रतिक्रिया