मानसिक सन्तुलन गुमाएकी महिलाले बच्चा जन्माएपछि अलपत्र

मानसिक सन्तुलन गुमाएकी महिलाले बच्चा जन्माएपछि अलपत्र

शनिबार जन्मिएको नवजात शिशुको अवस्थाबारे जानकारी लिँदै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हीरासिंह थापा।

हिक्मतबहादुर नेपाली
दैलेख वैशाख २२ ।

मानसिक सन्तुलन गुमाएकी दैलेखको एक महिलाले शिशुको (छोरा) जन्म दिएकी छिन्। जिल्लाको भैरबी गाउँपालिका –४ की अन्दाजी ४५ वर्षीया ती महिलाले शनिबार राती शिशुको जन्म दिएपछि नवजात शिशुको रेखदेखमा समस्या देखिएको छ । बाबुको पहिचान बिना जन्मिएको शिशुको भविष्य समेत बेवारिने बन्ने देखिएको छ । ती महिला झण्डै ४ वर्षदेखि मानसिक सन्तुलन गुमाएको स्थानीयले बताएका छन् । यसअघि ती महिलालाई कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा रहेको मानव सेवा आश्रममा पठाइएको थियो । उनी त्यहाँबाट भागेको आएको बताइएको छ ।

ती महिलाले मध्यराती गोरेटो बाटोको एक छेउमा शिशुको जन्म दिएको स्थानीयले बताएका छन् । नवजात शिशु अहिले ती महिलाको बहिनी नाता पर्ने लक्ष्मी विकको संरक्षणमा छिन् । लक्ष्मीका ६ सन्तान छन् ।  उनीहरुको आर्थिक अवस्था समेत नाजुक नभएका कारण शिशुको लालनपालनमा झनै समस्या देखिएको छ ।

‘आफ्नै सन्तानको पालनपोषणमा समेत मुस्किल परेको छ, अब झनै समस्या हुने देखिएको छ, शिशुको पालनपोषणमा सरकारले सहयोग गरिदिएको भए सजिलो हुन्थ्यो ।’ शिशुलाई जन्म दिएपनि रेखरेख नगरेपछि लत्ताकपडा तथा पोषणयुक्त खानाका व्यवस्था गरिदिन आफन्तले स्थानीय सरकारसँग माग गरेका छन्। मानसिक अवस्था ठीक नभएपछि घरबाट बेवारिसे बनेकी उनलाई गर्भवती बनाउने व्यक्तिको खोजी गरिनुपर्ने अधिकारकर्मीले माग गरेका छन् । 

शिशुको बाँच्न पाउने अधिकारको रक्षा गर्नुपर्ने अधिकारकर्मी बताउँछन् । शिशुको पालनपोषणमा सहयोग गर्ने स्थानीय सरकारले बताएको छ । भैरबी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हीरासिंह थापा भन्छन्, ‘बच्चा संरक्षणमा रहेको घरमै पुगेर शिशुको अवस्थाबारे जानकारी लिएको छु, शिशुको संरक्षणका साथ साथै उसको भविष्य निर्माणमा सहयोग गर्नेछौ।’ मानसिक सन्तुनल ठीक नभएकी सुत्केरी महिलाको रेखदेखका लागि पहल गरिरहेको प्रमुख प्रशासकीय अधिकृत थापाको भनाइ छ ।

प्रतिक्रिया