दैलेखमा थप कडाई,सबै नाका सिल

दैलेखमा थप कडाई,सबै नाका सिल

स्वास्थ्य जाँच गरिँदै ।

हिक्मतबहादुर नेपाली
दैलेख वैशाख २३ गते ।

नेपालगन्जमा कोरोना संक्रमण देखिएपछि दैलेखका सीमा नाका सिल गरिएको छ। नेपालगंजमा एकै दिन ठूलो संख्यामा कोरोना संक्रमित देखिएपछि दैलेखमा त्रास फैलिएको छ । सरकारले गत चैत्र ११ गते देखि लकडाउन गरेपनि नेपालगन्जबाट जिल्ला आउनेको संख्या नरोकिँदा दैलेखमा जोखिम बढेको हो ।

सरकारले गरेको लकडाउनकै अवधिमा करिब ३ हजार नागरिक दैलेख भित्रिएका छन् । बाँकेको नेपालगन्जहुँदै धेरै नागरिक दैलेख भित्रिएकाले जिल्लाबासी त्रसित भएका हुन् ।  अलपत्र नागरिकलाई नेता, सांसद र मन्त्रीले हुलका हुल गाडीमा जिल्ला पठाए पनि परीक्षण नगरी परिवार र समाजको सम्पर्कमा गएकाले जोखिम बढेको हो ।

नेपालगन्जमा कोरोना भाइरस संक्रमितको संख्या बढेसँगै दैलेखमा विशेष कडाइ गरिएको छ । लकडाउनपछि नेपालगन्ज हुँदै धेरै व्यक्ति भित्रिएको भन्दै स्थानीय प्रशासनले कडाइ गरेको हो । छिमेकी प्रदेश ५ र सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमित देखिएपछि दैलेख जिल्लालाई पूर्णरुपमा सिल गर्ने निर्णय गरिएको छ । दैलेख प्रवेश गर्ने सबै नाका सिल गर्ने निणर्य गरिएको हो ।

हालसम्म कोरोना संक्रमण नदेखिएको दैलेखलाई सुरक्षित राख्न जिल्ला सुरक्षा समितिको बैठकले सबै नाकाहरु सिल गर्ने निर्णय गरेको हो । दैलेख र सुर्खेतको सीमा क्षेत्र गुराँसे, दैलेख र जाजरकोटको सीमा क्षेत्र सुयडा, सुदुरपश्चिम प्रदेशको अछाम जिल्लासँग सीमा जाडिएको आठबीस नगरपालिकाका राकमकर्णाली, डाव लगाएतका जिल्ला भित्रिने मुख्य नाका बन्द गरिएको सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्रीले बताए ।

‘भारतलगायत तेस्रो मुलुक र नेपालकै अन्य जिल्लाबाट दैलेख आउने बाँके हुँदै आउनुहुन्छ, नेपालगन्जमै संक्रमितको संख्या बढिरहेको छ,’ सहायक प्रमुख जिल्ला अधिकारी क्षेत्रीले भने, ‘हामीले अर्को सूचना जारी नहुँदासम्मका लागि जिल्ला नै सिल गरेर लकडाउनलाई अझै कडाई गर्दै निगरानी बढाएका छौं।’

जिल्ला भित्रिने सबै नाका सिल गरेर उच्च निगरानी बढाएको उनले जानकारी दिए । जिल्ला भित्रिने मुख्य नाकामा आवश्यकता अनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिने सहायक प्रमुख जिल्ला अधिकारी क्षेत्रीले जनाए ।   कर्णाली प्रदेशको दैलेख, कालिकोट, जुम्ला हुम्ला, मुगुसम्म पुग्ने मुख्य नाका मानिएको दैलेखको गुराँसेमा दैलेखका ११ वटै स्थानीय तहले हेल्पडेक्स स्थापना गरेर स्वास्थ्यकर्मी परिचालन गरेका छन् । 

जिल्लामा ७ सय ६३ जनाको आरडीटी गरिएकोमा सबैको रिर्पोट नेगेटिभ देखिएको स्वास्थ्य सेवा कार्यालय दैलेखले जनाएको छ । कार्यालयका खोप अधिकृत थिरप्रसाद रेग्मीका अनुसार ९८ जनाको स्वाब परीक्षण भएकोमा सबैको रिपार्ट नेगेटिभ नै आएको छ । 

प्रतिक्रिया