बन्दाबन्दी अवैध मदिराको कारोवार, मदिरा नियन्त्रणमा लिई नष्ट

बन्दाबन्दी अवैध मदिराको कारोवार, मदिरा नियन्त्रणमा लिई नष्ट

हिक्मतबहादुर नेपाली
दैलेख वैशाख २४ गते ।  कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि मुलुक लकडाउन (बन्दाबन्दी)मा छ । सरकारले कोरोना भाइरसको सक्रमण रोक्न लकडाउन गरेर अत्यावश्यकीय सामग्री मात्र बिक्री वितरण गर्न निर्देशन दिए पनि दैलेखका ग्रामीण बजारहरुमा घरेलु मदिरा बिक्री वितरण भइरहेको पाइएको छ । 

घरेलु मदिरा लुकिछिपी कोरोवार भइरहेको स्थानीले प्रशासनले जनाएको छ । जिल्लाका विभिन्न ग्रामीण बजारहरुमा उत्पादन हुने घरेलु मदिरामा जुत्ता, चप्पल, मोजा, भित्रि बस्त्र, सेनेटरी प्याड प्रयोग हुने गरेको पाइन्छ । अवैध मदिरा बेच्न तथा ओसारपसार रोक्न स्थानीय प्रशासनले अनुगमन गरेर पटक–पटक आग्रह गरे पनि घरेलु मदिराको कारोबार भने रोकिएको छैन। 

दैलेखका सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्री, प्रहरी निरीक्षक उपेन्द्रप्रसाद आचार्य नेतृत्वको टोलीले गरेको अनुगमनका क्रममा यस्तो पाइएको हो । बिक्री वितरणका लागि तयार पारिएको घरेलु मदिरा, कच्चा पदार्थ र औषधी नियन्त्रणमा लिइ सचेत पारिएको सहायक प्रमुख जिल्ला अधिकारी क्षेत्रीले बताए । डुंगेश्वर गाउँपालिका–१ स्थित चुप्रा बजारमा गरिएको अनुगमनमा १ हजार ७ सय लिटर अवैध घरेलु मदिरा, ६ सय ८० केजी कच्चा पदार्थ र २ सय ५० केजी औषधी नियन्त्रणमा लिइएको उनले बताए । नियन्त्रणमा लिइएको मदिरा वडाका जनप्रतिनीधि लगाएतको रोहबरमा लोहोरे खोला किनारमा नष्ट गरिएको छ । यस्तै १३ थान घरेलु मदिरा उत्पादन गर्ने भाँडा नियन्त्रण लिइएको छ । 

जिल्ला प्रशासन, जिल्ला प्रहरी, डुंगेश्वर गाउँपालिका–१ का वडाध्यक्ष लोकबहादुर डांगी, वडाका अन्य जनप्रतिनीधि, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका प्रतिनीधि लगाएतका निकायको संयुक्त सहभागितामा अनुगमन भएको थियो । घरेलु मदिरा बिक्रीमा पूर्ण बन्देज लगाइ दैनिक उपभोग्य सामग्री बिक्रीमा भौतिक दुरी कायम गर्न निर्देशन दिएको सहायक प्रमुख जिल्ला अधिकारी क्षेत्रीले बताए । ‘लकडाउनसँगै खाद्यान्न लगायतका दैनिक उपभोग्य वस्तुको मुल्य वृद्धि रोक्न अनुगमन गरिरहेका छौँ,’ उनले भने ‘लकडाउनको फाइदा उठाउँदै दैनिक उपभोग्य बस्तुको मूल्य वृद्धि हुन नदि गम्भीरताका लागि लागिपरेका छौँ, नियमित बजार अनुगमन गरेर उपभोक्तालाई मारमा पर्न दिन्नौँ ।’

प्रतिक्रिया