कर्णाली प्रदेशसभाको बजेट अधिवेशन जेठ ११ गतेदेखि

कर्णाली प्रदेशसभाको बजेट अधिवेशन जेठ ११ गतेदेखि

सुर्खेत वैशाख २८ गते । कर्णाली प्रदेशसभाको को बजेट अधिवेशन जेठ ११ गतेदेखि सुरु हुने भएको छ । प्रदेश सरकारले आगामी वर्षका लागि ३३ अर्बको बजेट ल्याउने तयारी गरेको छ । 

मन्त्रिपरिषद्को शनिबार बसेको बैठकले आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम र बजेट निर्माणको तयारी गर्न सांसदहरुको सुझाव संकलनका लागि बजेट अधिवेशन बोलाउने निर्णय गरेको आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले बताए । ‘अधिवेशन सुरु हुनुअघि नै हामी बजेटको तयारीमा लागिसकेका छौं,’ उनले भने, ‘आगामी वर्षको बजेटमा जनस्वास्थ्य, कृषि र रोजगारी प्राथमिकतामा हुनेछन् ।’

प्रदेश सरकारले असार १ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । त्यसको एक साताअघि वार्षिक नीति तथा कार्यक्रम ल्याइसक्नुपर्छ । प्रदेश योजना आयोगले सबै मन्त्रालयलाई बजेटको सिलिङ पठाइसकेको जनाएको छ ।

प्रतिक्रिया